रोल्पा, २४ भदौ । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।
लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन् । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेका उनी देशभित्र रोजगारी नपाएपछि विदेशिन बाध्य भएका थिए । अहिले स्टेशनरी पसलबाट दैनिक राम्रै आम्दानी गर्दै आएका उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले समेत साथ दिने गरेका छन् ।
सदरमुकाम लिवाङमा किराना पसल सञ्चालन गर्दै आएका बालाजु श्रेष्ठ करिब चार वर्ष दक्षिण कोरिया बसेका युवा हुन् । वाणिज्य शास्त्र अध्ययन गरेका उनी पढाइपछि देशमा रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भए । दक्षिण कोरिया बसाइमा राम्रै आम्दानी गरेका उनी अब भने विदेश नजाने सोचमा छन् ।
रोजगारीका कुनै विकल्प नभएपछि बाध्यतावंश विदेशिएका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन यी युवा । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेपश्चात् देशभित्र रोजगारीको अवसर नपाउँदा शिक्षित युवा विदेशिन बाध्य भएका छन् ।
घरको कमजोर आर्थिक अवस्थाका कारण विदेशिन बाध्य युवा विदेशमा पाएको दुःखका कारण पछिल्ला दिनमा भने स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । विदेशमा गरेको दुःख स्वदेशमै गरे राम्रो आम्दानी गर्न सकिने अनुभवसँगै उनीहरुको धारणामा परिवर्तन आएको छ । विदेशमा भनेजस्तो पारिश्रमिक नदिनु, गाह्रो तथा जोखिमपूर्ण काममा लगाउनु तथा भनेका बेला पारिश्रमिक नदिने भएका कारण युवाको विदेश मोह क्रमशः कम हुँदै गएको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याँकअनुसार आव २०७२/७३ मा छ हजार ८५७ जनाले विदेश जानका लागि राहदानी लिएकोमा आव २०७३÷०७४ मा चार हजार २३६ जनाले मात्र राहदानी लिएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६२१ ले कम हो । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।
अघिल्ला वर्षमा दैनिक १८/१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८/१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताउनुभयो । राहदानी लिने रोल्पाली युवाको संख्या घट्नु दीर्घकालीन रुपले सकारात्मक भएको बताइएको छ ।
नौ वर्षसम्म कतार बसेका रोल्पा कोर्चवाङका कैलाश घर्तीले विदेश जान इच्छुक विदेश गइसकेको र नयाँ पुस्ताले पढिरहेका कारण विदेश जानेको संख्या घटेको हुनसक्ने बताए । वैदेशिक रोजगारीमा जाने अधिकांश रोल्पाली ज्यालामजदुरी कामदारको रुपमा रहने भएका कारण दुःख बढी र ज्याला कम हँुदा पनि आकर्षण घट्दै गएको घर्तीले बताए ।
बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको आबद्धताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताए। जिल्लामा विकास निर्माणका कामसमेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको उहाँले बताए । स्वदेशमै बसेर रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच विकास हुनु सकारात्मक भएको उनको भनाइ छ । रासस





























प्रतिक्रिया