काठमाडौं , १० भदौ
सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बौँ रुपैयाँको सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ ।
चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा, त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्री लगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी नगराई निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति ट्रान्सफर गराउन लागेका हुन् । ०५१ सालमा स्थापना भएको उक्त कलेज ०६० मा विधिवत् रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको छ । दर्ता नम्बर ५५२ रहेको उक्त कलेजको विधानमा नै मुनाफारहित उद्देश्यले स्थापना गरिएको उल्लेख छ । कानुनी व्यवस्था अनुसार सामाजिक संस्थाका रूपमा स्थापित कुनै पनि संस्था सञ्चालन गर्न कठिन भएको अवस्थामा सम्पूर्ण सम्पत्ति राज्यलाई बुझाएर बन्द गर्नुपर्ने हुन्छ । व्यक्तिको नाममा कुनै पनि हालतमा ल्याउन मिल्दैन । न्यौपानेले आफू खुसी निजी कम्पनी दर्ता गरी कलेजको सम्पत्ति आफ्नो नाममा ल्याउन लागेको थाहा पाएपछि अन्य सदस्यले विरोध गरेका छन् । कलेज सञ्चालक समितिमा ७ जना सदस्य छन् । न्यौपानेले कम्पनी रजिस्टारको कार्यालयमा आफ्नो कम्पनी दर्ता गरेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय भक्तपुर मार्फत सम्पत्ति ट्रान्सफर गराउने प्रक्रिया सुरु गरिसकेका छन् ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया