माओवादीले हार्नुपर्ने जति हारिसक्यो, अब हार्ने ठाउँ छैन- प्रचण्ड

माओवादीले हार्नुपर्ने जति हारिसक्यो, अब हार्ने ठाउँ छैन- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

सुर्खेत, ९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन् । संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हार भएको बताए । 

पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गर्नुभयो । 

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।” संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने, “भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।”

Logo