काठमाडौँ, ७ भदौ ।
स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ ।
आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिए अनुसार बाढी प्रभावित जिल्लामा औषधि सहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक पठाइएको हो । विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्य सम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
विभागका अनुसार बाढी पहिरोका कारण महोत्तरी, सप्तरी, रौतहट लगायतका जिल्लाका १५ बर्थिङ्ग सेन्टर चल्न सकेका छैनन् । समितिले ती सेन्टरलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा टेन्टबाट सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । संयोजक भण्डारीले बाढी प्रभावित जिल्लामा महामारी फैलन नदिन जनचेतनाका लागि स्वास्थ्य शिक्षा र अन्य सामग्री सहितको टोली पनि प्रभावित जिल्लामा पठाइएको बताए । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट १६ वटा हाते माइक, स्वास्थ्य सन्देश सहितका विभिन्न पम्प्लेट र बाढी पहिरोपछि फैलने महामारी रोकथाम सम्बन्धी २५ हजार बाढी सामग्री पहिरो प्रभावित स्थानमा पठाइएको संयोजक भण्डारीले जानकारी दिए । प्रभावितहरू अस्थायी तथा अव्यवस्थित बसोबास गरिरहेकाले उनीहरुका लागी कीटजन्य रोगको उच्च सम्भावना रहेका र रोग निदानको लागि प्रयाप्त परिमाणमा तत्काल उपचार सामग्रीको व्यवस्था गरेको विभागले जनाएको छ । रासस





























प्रतिक्रिया