काठमाडौंसमेत ३१ जिल्लाका सिडिओ सरुवा

काठमाडौंसमेत ३१ जिल्लाका सिडिओ सरुवा


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।

जनार्दन शर्मा प्रभाकर गृहमन्त्री भएपछि पहिलोपटक प्रमुख जिल्ला अधिकारी (प्रजिअ/सिडिओ) हरूको सरुवा भएको छ । स्थानीय तहको तेस्रो चरण निर्वाचन र आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावको चर्चा एवम् तयारी अगाडि बढिरहेका बेला यो सरुवा भएको छ ।

गृहमन्त्रालयले बिहीबार काठमाडौंसमेत ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको काज सरुवा गरेको हो । यसअनुसार काठमाडौंमा केदारनाथ शर्मा प्रजिअ बनेका छन् । शर्माभन्दा पहिलेसम्म काठमाडौंको सिडिओ रहेका बालकृष्ण पन्थी शिक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

नयाँ सरुवाअनुसार, गृह मन्त्रालयमा रहेका रामप्रसाद आचार्यलाई मोरङमा, रुपन्देहीमा रहेका विनोद प्रकाश सिंहलाई पर्सामा र बाग्लुङमा रहेका ऋृषिराम तिवारीलाई झापा सरुवा गरिएको छ ।

यसैगरी श्यामप्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा, भागीरथ पाण्डेलाई सप्तरीमा, महेश आचार्यलाई स्याङ्जाको प्रजिअमा खटाइएको छ । सप्तरीमा सीडीओ रहेका कृष्णप्रसाद कटुवाललाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा र महोत्तरीमा सीडीओ रहेका विरेन्द्रकुमार यादवलाई गृहमन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको हो ।

Logo