काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
उनीहरुका नाममा ३५ दिने वारेन्ट जारी भएको छ । अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको जिल्ला अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
एसपी बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा अदालतले उपस्थित हुन एसपी बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो । तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भए। एसपी बिष्ट र डिएसपी जिसी सम्पर्कमा नआएपछि उनीहरुको नाममा ३५ दिने वारेन्टसहितको सूचना जारी गरिएको श्रेष्टेदार अवस्थीको भनाई छ ।
गत बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो। उनीहरुको बयान सकिएको छ । अदालतले आजै आदेश जारी गर्ने सम्भावना रहेको छ ।
डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइसकिएको हो । मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरिएको हो ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले गत पुस ४ गते दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूमाथि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरेको थियो ।
प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन् । गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
प्रकाशित: २९ फागुन २०७५ १४:०१ बुधबार