काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँग भेट नगरेको जनाएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले ‘रअ’ प्रमुखसँग कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन् । सापकोटाले संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग वरिष्ठ नेता नेपालको भेट नभएको बताएको छ ।
वरिष्ठ नेताका सचिवालयले गोयलसँग वरिष्ठ नेता नेपालको भेट नभएको वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । बुधबार विशेष विमानबाट काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेता नेपालसँग गोप्य भेटवार्ता गरेका समाचार बाहिर आएको थियो ।
भारतीय गुप्तचर संस्थाका प्रमुख गोयल बुधवार काठमाडौं आएका थिए ।





























प्रतिक्रिया