वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैं लगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ ।बडादशैं, तिहार, नेपाल संवत्, ल्होसार, छठ लगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो । जसका लागि प्रदेशका १० जिल्ला (काठमाडौँ ललितपुर र भक्तपुरबाहेक) प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ । प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३०० सुरक्षाकर्मी जिल्ला÷जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ । सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो ।

उक्त सुरक्षा योजना अन्तर्गत चोरी ठगी लगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिने जस्ता योजना छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५०० सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ।

कोरोना बिरामी बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

वाग्मती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

मकवानपुरबाट काठमाडौं बिरामी लिएर जाने चालकलाई थप रु एक हजार र चितवन जाने चालकलाई थप रु ५०० साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। सो थप गरिएको प्रोत्साहनबापतको रकम कोभिडका बिरामी बोकका एम्बुलेन्स चालकले मात्र लिन पाउने छन् । साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको हो ।

बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिए। जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक सङ्घका सचिव राजु मुक्तानले जानकारी दिए।

समितिको यस अगावैको निर्णय अनुसार हेटौँडाबाट काठमाडौँ रु सात हजार ५००, हेटौँडाबाट चितवन रु तीन हजार, हेटौँडाबाट वीरगञ्ज रु दुई हजार, हेटौँडा बजार चार किल्लाभित्र रु ३०० र नगर बाहिर रु ३०० सहित प्रतिकिलोमिटर रु २५ मूल्य निर्धारण गरिएको थियो । यस जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।रासस

Logo