कोभिड उपचारका नाममा ह्याम्स र केएमसी अस्पतालको लुटधन्दा, एउटा बेडको दैनिक शुल्क ५० हजार!

कोभिड उपचारका नाममा ह्याम्स र केएमसी अस्पतालको लुटधन्दा, एउटा बेडको दैनिक शुल्क ५० हजार!


कोरोना भाइरसको दोस्रो तरंगले विश्व आक्रान्त बनिरहेका बेला विभिन्न मुलुकका सरकार, अस्पताल र चिकित्सकले दिलोेज्यान दिएर विपद्को सामना गरिरहेका छन्।  

अमेरिका, युरोपलगायत मुलुकमा गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क परीक्षण तथा उपचार र अन्यलाई पनि सरकारले तोकेको मूल्यमा उपचार व्यवस्था मिलाएका छन्। छिमेकी मुलुक भारतमा सरकारले उपचार र परीक्षणसम्बन्धी निर्देशिका जारी गर्दै सोही अनुसार काम भइरहेको छ। तर, नेपालका केही निजी अस्पतालले महाव्याधिको यो बेलामा मनपरी शुल्क असुलेर लुटधन्दा चलाइरहेका छन्। 

एउटै बेडको ५० हजार रुपैंयाँसम्म! 

धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोभिड बिरामीको उपचारका लागि एउटै बेडको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको भेटिएको छ। 

ह्याम्समा कोभिड–१९को बिरामीलाई उपचार गर्न लैजाँदा लाखौं रुपैंयाँ जोहो गर्नुपर्ने हुन्छ। ‘एकातिर संक्रमितको पीडाले गर्दा छटपटी भइरहेको हुन्छ भने अर्कोतिर, लाखौं रुपैयाँ जोहो गर्दा पनि नपुग्ने स्थिति आएको छ,’ ह्याम्समा उपचार गराइरहेका बिरामीका आफन्तले भने। 

ह्याम्सले एउटै बेडको एक रातको ७ हजारदेखि ५० हजारसम्म लिने गरेको र त्यसरी लिएबापत कतै उजुरी नगर्ने भन्ने कागजमा हस्ताक्षर गराउने गरेको भेटिएको छ। ह्याम्स अस्पतालले जनरल बेडका लागि प्रति बेड प्रतिदिन ७ हजार, ट्विन शेयरिङ रुमका लागि १५ हजार, प्राइभेट रुमका लागि २१ हजार, डिलक्स रुमका लागि २६ हजार रुपैयाँ तोकेको छ। त्यसैगरी, आइसियु बेडको शुल्क भने २२ हजार रुपैंयाँ तोकिएको छ। आइसोलेसन सुइट रुमको भने दैनिक ५० हजार शुल्क तोकिएको छ।

बेड शुल्क, औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अस्पतालले विभिन्न शीर्षकमा लाखौं असुल्ने गरेको देखिन्छ। 

विपद्मा अस्पतालले जोखिम मोलेर उपचार सेवा दिए पनि मनपरी ढंगले शुल्क लिन नहुने भक्तपुरका केदार अर्यालको गुनासो छ। ‘मैले केही दिनअघि मात्र एकजना नातेदारलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गराएको थिएँ, कोभिडको बिरामी भन्नेबित्तिकै त्यहाँ अस्पतालले छुट्टै शुल्क लिने व्यवस्था गरेको रहेछ,’ अर्यालले केन्द्रबिन्दुलाई सुनाए, ‘महामारीका बेलामा पनि निजी अस्पताल सेवाभन्दा पनि लुटधन्दामै लागेको भेटियो।’

 काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज(केएमसी)ले पनि मनपरी रकम असुल्दै आएको छ। केएमसीले एकजना कोभिड बिरामीबाट एउटा बेडको दैनिक तीस हजारसम्म असुल्दै आएको छ।

कोभिड बिरामीका लागि छुट्टै दररेट कायम गरिएको केएमसीका वरिष्ठ प्रशासक प्रेमप्रकाश थापाद्वारा जारी सूचनामा उल्लेख छ। सूचना अनुसार कोभिड क्याबिन सिंगल बेडको दैनिक २० हजार, कोभिड क्याबिन डबल बेडको १० हजार, कोभिड क्याबिन डिलक्सको २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको ३० हजार रुपैयाँ कायम गरिएको छ।  

 कोरोना महाव्याधिले मुलुक आक्रान्त बनिरहेका बेला केही निजी अस्पताललाई यसलाई पैसा कमाउने अवसर बनाउन खोजेका छन्। 

‘कोभिड बिरामीका लागि किन यति धेरै शुल्क? भनी प्रश्न गर्दा ‘यस्तो बेलामा पैसा ठूलो कि उपचार’ भन्दै उल्टै अस्पताल प्रशासनले सोधेको अर्यालले उल्लेख गरे।

निजी अस्पतालले कोभिड बिरामीबाट चर्को शुल्क असुल्न थालेपछि पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भनाइ चर्चित बन्न पुगेको छ– ‘सरकारी अस्पताल जानुस्, ज्यान घर आउँदैन, निजी अस्पताल जानुस् आउँदा घर रहँदैन।’

निजी अस्पतालले कोभिड उपचारका नाममा यसरी लुटधन्दा मच्चाए पनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कानमा तेल हालेर बसेको छ। यसअघि गत वर्ष कोरोनाको पहिलो लहर चल्दा पनि निजी अस्पतालले कोभिड बिरामीबाट मनपरी रकम असुल गरेका थिए। 

त्यसबेला सरकारले सार्वजनिक अपिल जारी गरी चर्को मूल्य नलिन विज्ञप्ति जारी गरे पनि निजी अस्पतालले टेरेनन्। पछि कोरोना संक्रमण कम हँुदै गए पछि चर्को शुल्कको विषय उठेको थिएन।

जनस्वास्थ्यविद् प्रा.डा शरदराज वन्तले निजी अस्पतालले सरकारको कमजोरीमाथि टेकेर मुनाफामुखी चरित्र प्रदर्शन गरेको आरोप लगाए। ‘हिजो पनि निजी अस्पतालको चरित्र उस्तै थियो र, आज पजि उस्तै चरित्र देखिएको छ। यस्तो महामारीमा जनताले सरकार र निजी क्षेत्रबाट ठूलो अपेक्षा गरेका हुन्छन्। निजी अस्पतालको यो हर्कत मानवीय संवेदनाविपरीत छ,’ उनले भने। सरकारले महामारीका बेला उपचार खर्च निर्धारण गरिदिनुपर्नेमा उल्टै भर्‍याङ लगाइदिएको उनको आरोप छ।

Logo