काठमाडौं ।
हराएको भनिएको नेपाल–चीन सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाको माथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले उक्त स्तम्भ भेटेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिएका छन् । यो सीमा स्तम्भ सन् १९६१ मा नेपाल–चीन सिमांकन हुँदा स्थापना गरिएको थियो ।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्तम्भ नभेटिएको सूचना दिएपछि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित निरीक्षण टोली सो क्षेत्रमा गएको थियो । टोलीले अनुमान गरिएकै क्षेत्रमा स्तम्भ भेटिएको जानकारी दिएसँगै सीमा अध्ययनमा सहजता आएको छ ।
हालै चीनले लाम्चा उपत्यकाको लोलुङजोङमा थप ११ वटा भवन बनाएपछि स्थानीय बासिन्दाले उक्त भूभाग नेपालको भएको बताउँदै आएका छन् । चीनले भने उक्त भवन आफ्नै जमिनमा बनाएको दाबी गर्दै आएको छ ।
नेपाल सरकारले पनि चीनले सीमाबाट १ किलोमिटर चीनतर्फ नै ती भवन बनाएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले चीनले बनाएको उक्त भवनहरू तथ्य र प्रमाणहरूका आधारमा नेपाली भूभागमा नपर्ने प्रष्ट पारेको हो । यतिमात्र नभएर उक्त स्थानमा भवन बनाइएका समाचार बाहिरिएपछि विक्रम संवत् २०७३ सालमा नै नेपालका तर्फबाट स्थलगत अध्ययन गरी सीमाभन्दा करिब एक किलोमिटर भित्र चिनियाँ भूभागमा भवन बनेको निष्कर्ष निकालिएको थियो । तर, यो विषय स्थानिय निकाय र सर्वसाधारणको पहुँचमा नपुग्नाले वेतुकको विवाद सृजना भएको बताउँछन् सीमाविद् वुद्धीनारायण श्रेष्ठ ।
१९६१ मै हुम्लाको लिमी–लाम्चा सीमा विवाद पानीढलको सिद्धान्तका आधारमा टुंगीएको र हाल स्थानिय निकायमा यसको पर्याप्तता प्रमाण र सीमा सम्बन्धमा उचित ज्ञान नहुँदा यो विवाद उत्पन्न हुन गएको सीमाविद् श्रेष्ठको भनाई छ । हरेक स्थानिय निकाय अन्तर्गतका प्रशासन तथा स्थानिय बासिन्दा नै सीमा सुरक्षाका सच्चा पहरेदार हुने भएकाले राज्य पक्षबाटै सीमा स्तम्भ तथा सीमाका विषयमा सुसुचित गर्न सके यस प्रकारका गल्ति नदोहोरिने श्रेष्ठ सुझाउँछन् ।































प्रतिक्रिया