सोलुखुम्बु । मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली आज विमानमार्फत लुक्ला आउने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौंमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ ।
समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला आउने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै उडान नभएको कार्यालयले जनाएको छ ।
खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए । राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौं आएको थियो । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ ।
विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौंबाट पिसिआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ ।





























प्रतिक्रिया