काठमाडौं ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४ औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।
कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि ०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउन सम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।
लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, महामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुपर्यो, दैनिक जीवन, प्रकृति, पर्यावरण लगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोगितामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिए।
प्रतियोगितामा सहभागीले बढीमा तीन वटा फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिए। तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनु पर्नेछ ।रासस





























प्रतिक्रिया