पोखरा विमानस्थलको निर्माण ६३ प्रतिशत सम्पन्न (भिडियोसहित)

पोखरा विमानस्थलको निर्माण ६३ प्रतिशत सम्पन्न (भिडियोसहित)


काठमाडौं ।

निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको कार्य ६३ प्रतिशत सम्पन्न भएको छ । सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ । यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ ।

विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङ लगायतका कामहरु सम्पन्न भएका छन् । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना महामारी र लकडाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेन । लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको उनले बताए । विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन् । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उनले बताए । लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उनले बताए ।

Logo