अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा

अण्डाको मूल्य बढ्यो, किसानलाई भन्दा व्यापारीलाई फाइदा


नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरि अण्डाको मूल्य बढाएको छ। संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो। बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट मूल्य १३ रुपैयाँ १६ पैसा भए पनि उपभोक्ता मूल्य भने १६ रुपैयाँ कायम गरिएको छ।

उपभोक्ताको भान्सामा दैनिकजसो उपभोग हुने अण्डाको मूल्य बढ्दा किसानलाई भन्दा बिचौलिया तथा व्यापारीलाई बढी फाइदा हुने गरेको छ। मूल्य बढे पनि अहिले किसानले पाउने प्रतिगोटा अण्डा १३ रुपैयाँ १६ पैसा मात्र हो। 

किसानबाट व्यापारीसम्म आइपुग्दा ढुवानी चार्ज जोडेर १६ रुपैयाँ उपभाक्ता मूल्य राखिएको छ। तर यसअघि अण्डाको गेट मूल्य १२ रुपैयाँ १६ पैसा हुँदा पनि व्यापारीले सर्वसाधारण उपभोक्तासँग १७ रुपैयाँसम्म लिने गरेका थिए। अब संघले नै उपभोक्ता मूल्य १६ रुपैयाँ राखेपछि व्यापारीले उपभोक्तासँग १८ देखि १९ रुपैयाँसम्म लिन सक्ने बताइएको छ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले किसानले पाउने मूल्य लागतभन्दा खासै धेरै नभएको बताए। उनका अनुसार अहिले पनि एउटा अण्डाको लागत मूल्य १३ रुपैयाँ हाराहारी छ। साँच्चै अण्डा उत्पादक किसानले नाफा पाउने गरि मूल्य राख्ने हो भने प्रतिक्रेट ४५० रुपैयाँ अर्थात् अण्डाको गेट मूल्य १५ रुपैयाँ पुर्‍याउनुपर्ने उनको तर्क छ।

पछिल्लो समय नेपालमा अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढाउनु परेको संघले बताएको छ। यसबाहेक पोल्ट्री दानाको कच्चापदार्थको मूल्यवृद्धिको असर अण्डाको मूल्यमा परेको संघको जिकीर छ। यसअघि नेपालमा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुने गरेको भए पनि अहिले उत्पादन घटेर ३४ लाखमा सीमित रहेको संघले बताएको छ। दानाको मूल्य बढ्दा अधिकांश किसानले कुखुरा पाल्न नसक्ने अवस्था आएको छ। कुखुरापालन घटेकाले उत्पादनमा ह्रास आएको हो।अभियान दैनिकबाट

Logo