भारी वर्षा सहित आएको हुरीबतास पछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।
जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गर्नु परेको बताए ।
नवलपुरका सचिवसमेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताएका छन् ।
त्यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।
कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
प्रकाशित: २० वैशाख २०७६ १०:१७ शुक्रबार