तथ्यांक विभागले माग्यो जनगणनाको लागि गणक तथा सुपरिवेक्षक

तथ्यांक विभागले माग्यो जनगणनाको लागि गणक तथा सुपरिवेक्षक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलनमार्फत करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको जानकारी दिएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ । २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाई छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत गणना गरिने उनले बताए ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्तर्गतको सवडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको उनको भनाई छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । विभागका अनुसार बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुनेछ ।

 

Logo