आज काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको १४ दिन पुगेको छ ।
कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको आज (बुधबार) अन्तिम दिन समेत रहेको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले पूर्णरुपमा पालना गरेका छन् ।
आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । मुख्य सडकमा अत्यावस्यक सेवाका सवारी सधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वस्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ । प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावस्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफुल लागयतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । समग्रमा जनजीवन प्रभावित भएपनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।
थप १५ दिन कर्फ्यु आदेश जारी गरौं- उपत्यका नगरपालिका मेयर फोरम
यता उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए ।
फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए । उनले अहिले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।
कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए ।
त्यसका लागि आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।
अब निषेधाज्ञा हटाऔं- जनस्वास्थ्यविज्ञ
जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे भने अब निषेधाज्ञा हटाउनुपर्ने बताउँछन् । लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने बर्गलाई ठूलो समस्या परेको भन्दै उनले अब थप सतर्कता अपनाउदै निषेधाज्ञा हटाउनुपर्ने बताएका हुन् ।
उनले अब सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे / नगरेको नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने बताए । यस्तो मापदण्ड पालना नगर्नेलाई जरिवानाको ब्यबस्था गर्ने तथा सुरक्षाकर्मी तथा CCTV बाट हरेक टोलको भीडभाड अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समुह, बिभिन्न पार्टीका भातृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, बिपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै पुलिंग मेथडबाट दैनिक १ लाखको कोरोना परीक्षण गर्ने, सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पुरा गरेर संचालन गर्ने, माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने, व्यक्तिगत सवारी जोरबिजोर चलाउने. सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गर्ने ब्यबस्था मिलाउने उनको सुझाब छ ।
त्यस्तै संचार माध्यम तथा सामाजिक संजाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा बैज्ञानिक बिचार प्रसारण / प्रकाशन गर्ने बातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया