सेनाको ब्यारेकमा फैलियो कोरोना, यस्तो छ अवस्था

सेनाको ब्यारेकमा फैलियो कोरोना, यस्तो छ अवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिए। अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका छन् ।

संक्रतिममध्ये १ सय १८ जना निको भएर ब्यारेक फर्किएका छन् भने ३ सय ३१ जनाको विभिन्न क्षेत्रमा रहेको आइसोलेसन सेन्टरमा बसेर चिकित्सकको निगरानीमा उपचारत रहेको प्रवक्ता पौडेलले जानकारी दिए।

त्यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकदेखि जवानसम्म गरेर ७ सय ७३ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर काममा फर्किएको र १ सय २५ जना भने बिभिन्न आइसोलेसन सेन्टरमा उपचारका क्रममा रहेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिए।

यता सशस्त्र प्रहरी बलका ५ सय १५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १७ जना संक्रमणमुक्त भएर पूर्ववत् काममा फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए । २ सय ९८ जनाको भने विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।नेपाल समाचारपत्रबाट

Logo