साँखुमा स्वस्थानीको ब्रत बस्न पीसीआर रिपोर्ट अनिवार्य

साँखुमा स्वस्थानीको ब्रत बस्न पीसीआर रिपोर्ट अनिवार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वस्थानी ब्रत भनेर प्रसिद्ध एक महिने माधवनारायण ब्रत यस वर्ष माघ १५ गतेदेखि सुरु हुँदैछ । काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुस्थित शाली नदीमा किनारमा उक्त ब्रत बस्ने प्रचलन रहँदै आएको छ।

स्वस्थानी ब्रत कथा अनुसार शाली नदी क्षेत्र ऐतिहासिक एवं पौराणिक महत्वको स्थान हो। त्यसैले यसै स्थानमा ब्रतालुहरु एक महिने लामो एवं कठिन ब्रत बस्ने गर्दछन्। कोरोना भाइरस संक्रमणको महामारीको कारण यस वर्ष स्वस्थानीको ब्रत बस्ने भक्तजनलाई कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ आउनु अनिवार्य गरिएको छ।

कोरोना परीक्षण नेगेटिभमात्रै भएर ब्रत बस्न नपाउने व्यवस्था गरिएको छ। कोरोना भाइरस संक्रमण नदेखिए ब्रत बस्ने भक्तजनमा निमोनियाजन्य रोगसमेत हुन नहुने प्रावधान राखिएको छ। वर्सेनी सयौंको संख्यामा ब्रत बस्ने शालीनदीमा यस वर्ष ५० जनाभन्दा बढी भक्तजनलाई ब्रत बस्न नदिने व्यवस्था गरिएको श्रीमाधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले शालीनदीमा ब्रत बस्ने भक्तजनहरुको लागि समितिले माघ १३ गते पीसीआर परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए। यसका लागि ब्रतालुले माघ १० देखि १२ गतेभित्र आआफ्नो नाम दर्ता गर्नुपर्ने उनले बताए।

‘कोरोना भाइरस संक्रमण भए नभएको थाहा हुने पीसीआर एन्टिजेन नेगेटिभमात्रै होइन निमोनियाको लक्षण छ कि छैन भनेर पनि एक्सरे रिपोर्ट साथमा ल्याउनु पर्ने अनिवार्य व्यवस्था गरेका छौं’, उनले भने, ‘विश्व स्वास्थ्य संगठनले रिफर गरेका विभिन्न रोग भएका बिरामीहरुलाई पनि ब्रतमा सहभागी गराउन नसकिने भनेका छौं।’

अध्यक्ष श्रेष्ठले यस वर्ष पुरुषतर्फ १५ र महिलातर्फ ३५ जना गरी जम्मा ५० जना भक्तजनलाई मात्रै स्वस्थानीको ब्रत बस्न दिन लागिएको स्पष्ट पारे । यसवर्ष समितिले ब्रतालुहरुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था मिलाइएको छ। पहिले ब्रतालु आफैँले बस्ने, खाने व्यवस्था गर्दै आएका थिए। तर यसरी ब्रतालुहरु छरिएर रहँदा कोरोना भाइरस संक्रमणको जोखिम भएकाले क्वारेन्टाइनको रुपमा सबै ब्रतालुलाई एकै ठाउँमा व्यवस्थित गरी राख्ने व्यवस्था गरिएको समितिका महासचिव योगेशमान डंगोलले जानकारी दिए।अन्नपूर्णबाट

Logo