काठमाडौं सहर सुधार्ने मेयर बालेनको अभियान अहिले जारी छ ।
कतिपय काममा अपेक्षित सफलता पाइएको छेन भने कतिपय काममा अवरोध आइरहेको छ । तर पनि मेयर बालेन प्रयासरत छन् । बालेनको अभियानलाई अधिकांश सहरवासीले साथ दिएका छन् । आजको अंकमा हामी यसै विषयमा चर्चा गर्नेछौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र महानगरीय प्रहरीसहितको टोलिले भदौ ६ गते बानेश्वर चोकस्थित बानेश्वर कम्प्लेक्समा पुगेर अण्डरग्राउण्ड पार्किङका पसलहरु हटाउन सुरु गर्यो ।
महानगरले नक्सामा बेसमेण्ट पार्किङ उल्लेख गरि नक्सा पास भएका भवनहरुले भाडा लगाएर पसलहरु सञ्चालन भइरहेका कम्प्लेक्सहरुबाट पसल हटाउन थालेको हो । पार्किङको लागि प्रयोजनमा आउने भनेर नक्सा पास गरेका उक्त भवनहरुबाट पसल हटाउन ३५ दिनअघि महानगरले एक सार्वजनिक सुचना निकालेको थियो । सुचनामार्फन नक्सामा जुन प्रयोजनका लागि बनाइएको संरचना हो,त्यही बमोजिम प्रयोग नगरिएको भएमा हटाउनुपर्ने भनिएको थियो । तर महानगरले दिएको ३५ दिनको समयभित्र कम्प्लेक्स तथा भवनका सम्बन्धित व्यक्तिले चासो नदेखाएपछि महानगरले स्थलगत अनुगमन सुरु गर्यो ।
अनुगमनका क्रममा बानेश्वर कम्प्लेक्सको अण्डरग्राउण्ड छिर्ने ठाउँमै सटर बनाएर अण्डरग्राउण्मा पसल सञ्चालन गर्न दिएको पाएपछि पसल हटाउने काम त्यहीँबाट सुरु भएको थियो । भदौ ६ गते मेयर बालेन्द्र शाह पुगेर हटाएपछि भदौ ७ गतेबाट अण्डरग्राउण्ड पार्किङका लागि सहज हुने प्रकृति बनाइँदै छ । बानेश्वर कम्प्लेक्सबाट सुरु भएको यो काम विस्तारै पुरै महानगरभित्र थालिएको छ । बुधबार पनि महानगरले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ ।
अनावश्यक संरचना डोजर चलाएर भत्काइएको छ । देशभरका मानिसको जमघट हुने महानगरपालिकामा पार्किङ मूख्य समस्या बनेको छ । बानेश्वर कम्प्लेक्स अगाडि पनि मोटरसाइकलहरु अव्यवस्थित रुपमा पार्किङ भइरहेको देखिन्छ । तर घरधनीहरुले पार्किङ गर्ने भनेर नक्सा पास गरेको भवनमा अन्य प्रयोजनको लागि प्रयोग गर्दा बाहिर पार्किङलाई थप अव्यवस्थित बनाइदिएको छ । व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्दा पार्किङ बनाएपछि आफ्नो कम्प्लेक्सहरुमा आएका ग्राहकहरुको जिम्मा पनि उनीहरुले नै लिनुपर्ने हुन्छ ।
तर त्यति ठूलो कम्प्लेक्समा सेवा लिन आएका सबै ग्राहकहरुले बाहिरी पार्किङ गर्दा व्यवस्थापन पनि कठिन हुन्छ । महानगरबाट छुट सहित लिएर नक्सा पास भएका कम्प्लेक्सले नक्सामा उल्लेखित प्रयोजन अनुरुप प्रयोग गर्नुपर्ने महानगरको भनाइ छ । काठमाडौं महानगरपालिकाभित्र अधिकांश सपिङ कम्प्लेक्सहरुमा अण्डरग्राउण्ड पार्किङ नभएको देखिन्छ । कतिपय कम्प्लेक्सले पार्किङका लागि बनाइएको संरचनाभित्र भर्याङ बनाएर पसलहरु सञ्चालन गरिरहेका छन् ।
महानगर भित्रका मल तथा कम्प्लेक्सहरुमा पार्किङहरु आफ्नो व्यवसाय सञ्चालनका लागि व्यवसायीले नै प्रयोग गर्न पाउँछन् । त्यसरी बनेका पार्किङहरु सिमित मूल्य लिएर अन्य सर्वसाधारणलाई प्रयोग गर्न दिन पाउने अधिकार पनि व्यवसायीलाई हुने महानगरको भनाइ छ । महानगरभित्र रहेका सपिङ मल र कम्प्लेक्सहरुमा नक्सामा पास भएर पार्किङको व्यवस्था भएको भएपनि सर्वसाधारणहरुले आफूलाई यो सम्बन्धमा थाहा नभएको बताउँछन् ।
तर पार्किङ सञ्चालन गर्नुको सट्टा पसलहरुकै लागि भाडामा दिने गरेको बुझेपछि भने यस्तो काम नराम्रो भएको सर्वसाधारणहरु बताउँछन् । साथै अहिलेको कदम राम्रो भएको उनीहरुको बुझाइ छ । जुन कामको लागि अनुमति लिएर बनाइएको हो त्यही कामका लागि प्रयोग हुनुपर्ने सर्वसाधारणहरुको भनाई छ । यसबाट बाहिरको पार्किङ व्यवास्थपन राम्रो हुने अधिकांश सहरवासीहरु बताउँछन् । महानगरपालिकाले हरेक वर्ष दश हजार बढी स्क्वायर फिट भएका सय भन्दा बढी भवनको नक्सा पास गर्दै आएको छ ।
महानगरपालिकामा वि.सं. २०७५ भन्दा अघि संरचनाहरुमा बेसमेण्ट पार्किङ अनिवार्य गरिएको थिएन । यसका लागि नक्सा पासको काम पनि हुने गरेको थिएन । संरचनाहरुमा बेसमेण्ट पार्किङ अनिवार्य बनाउन भनिएपछि आर्थिक वर्ष ७५-७६ मा ९१,आव७६-७७ मा ८६,आव७७-७८ मा ७५ र आप ७८÷८९ मा ५६ ओटा भवनहरु यसअनुरुप निर्माण भएका छन् । महानगर भवन विकाससँग यसभन्दा अघि बनेका बेसमेण्ट पार्किङ भवनहरुको तथ्याङ्क भने छैन ।
साथै पार्किङबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका संरचनाहरुको यकिन तथ्याङ्क पनि महानगरसँग छैन । महानगरभित्रका कम्प्लेक्सहरुले अहिले प्रयोजनभित्र ल्याएका पसल हटाई पार्किङकै रुपमा त्यसलाई प्रयोग गरिदिनुपर्ने महानगरले बताएको छ । आफूले लिएका सुविधाको दुरुपयोग नगर्न महानगरको आग्रह छ । यसका साथै ग्राहकले बाहिर पार्किङ गर्ने र भएका सुविधा अन्य प्रयोजनका लागि प्रयोग हुनु कानुनसंगत नभएको महानगरको भनाई छ ।





























प्रतिक्रिया