‘ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याए’ : झलनाथ खनाल

‘ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याए’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गरेका हुन् । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उनले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताए। ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उनको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उनले बताए । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफैं भाग्नु पर्ने अवस्था आएको उनको भनाई छ ।

बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्ने गरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताए। प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेशविरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उनले बताए । उनले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

वरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताए। सर्वोच्चले संसद पुनर्स्थापना गर्नुको विकल्प नभएको उनको भनाइ छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उनले बताए । उनले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घुँडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताए ।

Logo