बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य बोहोराले तुलसीपुरदेखि कपुरकोटसम्मको सडकखण्ड निर्माणमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारले लापरबाही गरेको बताए । उनले सो सडकखण्डमा मिलेमतो गरी भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘राप्ती राजमार्ग अस्तव्यस्त छ । यात्रीहरुले ठूलो सास्ती बेहोरिरहेका छन् । तुलसीपुरदेखि कपुरकोटसम्मको खण्डको बिजोग छ । यस बारे सदनमा पहिले पनि कुरा उठाएको हुँ । कुनै सुनुवाइ भएन । यसमा सडक डिभिजन कार्यालय दाङ र ठेकेदारको मिलेमतो र लापरबाही प्रष्ट देखिन्छ । यो गलत हो, बदमाशी हो । यो मिलेमतोपूर्ण भ्रष्टाचार हो । त्यसो भएको हुनाले म सम्बन्धित मन्त्रालय र निकायलाई गम्भिर ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्न चाहन्छु ।’
त्यस्तै, राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले मधेशमा सिंचाई र मलको अभावका कारण खेतियोग्य जमिन बाँझो रहेको बताइन् । उनले यसको समाधानका लागि बहुउद्देश्यीय पहाड–मधेस सिंचाई आयोजना कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
उनले मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराएकी छन् । ‘मधेसमा सिंचाई र मलको अभावले खाद्यान्नको स्रोत भएको मधेसको जुन जमिनहरु छ । त्यसको उपयोग हुन सकिरहेको छैन । बारम्बार यो समस्या मधेसले झेलिरहेको अवस्थामा बहुउद्देश्यीय पहाड– मधेस सिंचाई आयोजनाहरुलाई कार्यान्वयन गरेर लैजानुपर्ने, मललाई समयमै उपलब्ध गराउनुपर्ने सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् ।
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सहकारीहरुले जनताको रकम लिएर फरार हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले कैलाली जिल्लामा रहेको पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरिन् । उनले भनिन्– ‘नेपालको कैलाली जिल्लाका नदिहरुमा डल्फिन वर्षायाममा देख्न पाइन्छ । तर अहिलेसम्म राज्यको त्यतातर्फ ध्यान नगइरहेको अवस्थामा म कैलाली क्षेत्रको दक्षिणपूर्वी क्षेत्र टिकापुर र भजनी नगरपालिकामा रहेका पथ्रैया, मोहना, काँडा, कान्द्रा र कर्णाली नदी तटिय क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरियोस् भनि सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’
राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले गत वर्ष सुख्खाग्रसित किसानले पाउने भनिएको राहत रकम सिरहा नगरपालिकाका किसानहरुले हालसम्म नपाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । ‘गतवर्ष सुख्खाबाट ग्रसित किसानहरुलाई सरकारले क्षतिपूर्ति वा राहतस्वरुप केही रकम प्रदान गर्ने निर्णय गरेको थियो । अधिकांशले पायो पनि । तर सिरहा नगरपालिकाका दर्जनौँ किसानहरुले हालसम्म यो राहत रकम पाएको छैन । त्यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भने ।
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले काठमाडौंमा डेंगुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भिर रुपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलाहरुलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ निर्वाचित गराउनुपर्ने बताएइन् । उनले बुटवल–काठमाडौंको सडकको दुर्दशा रहेको भन्दै यसको निर्माणको निम्ति सरकारको ध्यानाकर्षण गराइन् ।





























प्रतिक्रिया