मन्त्रीले थुनाएका गुरुङ रिहा

मन्त्रीले थुनाएका गुरुङ रिहा

केन्द्रबिन्दु
0
Shares

चौतर्फी विरोध र आलोचना भएपछि सरकारले पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा पक्राउ गरिएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई साधारण तारेखमा छाडेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई छाडेको हो । सरकारी भ्रमणमा क्यानडा जान भिसा प्रोसेसका लागि पत्नी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसहित शुक्रबार ठमेलस्थित भिएफएस ग्लोबलको कार्यालय पुगेका मन्त्री श्रेष्ठको टोली सरासर भित्र पस्न लागेपछि सेक्युरिटी गार्ड गुरुङले आमसेवाग्राहीझैँ लाइनमा बस्न आग्रह गरेका थिए ।

तर, मन्त्री श्रेष्ठले आफूमाथि दुव्र्यवहार भएको भन्दै उनलाई पक्राउ गर्न लगाएका थिए । गुरुङलाई जिल्ला प्रशासनले आइतबार मात्रै थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप गरेको थियो । गृहमन्त्री खाणको निर्देशनपछि प्रशासनले उनलाई सोमबार साँझ पत्नी लक्ष्मी गुरुङको जिम्मा लगाएको हो ।

मन्त्री श्रेष्ठले आफूमाथि गुरुङले दुव्र्यवहार गरेको भन्दै कारबाहीका लागि शुक्रबार गृह मन्त्रालयलाई पत्र लेखेका थिए । सोही पत्रपछि उनलाई प्रहरीले त्यही दिन बिहान ११ बजे पक्राउ गरेको थियो । भिसाका लागि बायोमेट्रिक परीक्षण गराउन उनी ठमेलको छाया सेन्टरस्थित ‘भिएफएस ग्लोबल’को कार्यालय पुगेका थिए । त्यही क्रममा सेक्युरिटी गार्ड गुरुङले उनीहरूलाई लाइनमा बस्न आग्रह गर्दा मन्त्री श्रेष्ठ आक्रोशित बनेका थिए । 

घटना सार्वजनिक भएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना सुरु भयो । दबाबमा आएका उनले गरुड सेक्युरिटिज र गुरुङले माफी मागेकाले रिहा गर्न भनेको दाबी गरेका छन् । तर, सेक्युरिटिज कम्पनी र गुरुङले भने आफूहरूले गल्ती नै नगरेकाले माफी माग्नुपर्ने कारण नै नभएको बताएका छन् । 

गुरुङकी पत्नी लक्ष्मीले सोमबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी छिन् । जसको मंगलबार पेसी तोकिएको छ । गरुड सेक्युरिटिजले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको र पेसी मंगलबारका लागि तोकिएको बताएको छ । 

प्रक्रिया पु¥याएर गृह मन्त्रालयले रिहा गर्न भनेका गुरुङविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा मन्त्री श्रेष्ठका अंगरक्षकले अभद्र व्यवहार कसुरअन्तर्गत जाहेरी दिएका थिए । त्यसकै आधारमा उनलाई पक्राउ गरिएको थियो । 

यता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । कार्यालय प्रमुख एआइजी रवीन्द्र धानुकले घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । 

प्रहरी हिरासतमा रहेका गुरुङलाई भेट्न सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए । गुरुङसँग बसेर खिचेको फोटो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । जसक्रममा गुरुङले आफूले मन्त्री श्रेष्ठलाई कुनै दुर्व्यवहार नगरको भन्दै गुरुङलाई उदृत गर्दै लामिछानेले स्टाटस समेत लेखेका थिए ।

हिरासतमा पुगेका व्यक्तिलाई भेट्न र व्यक्तिको फोटो समेत खिच्न दिएर सार्वजनिक गरेको भन्दै दरबारमार्गका डीएसपी कोपिला चुडालमाथि छानबिन सुरु गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्याललय रानिपोखरीको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौंले एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति बनाएर डीएसपी चुडालमाथि छानबिन सुरु गरेको छ हो ।

यही प्रकरणमा दरबारमार्गकै इन्स्पेक्टर विकास तामाङको जिम्मेवारी समेत खोसिएको छ । उनको जिम्मेवारी खोस्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ ।  

 

Logo