निर्वाचनमा महिला सहभागिता बढाउन कुनै पार्टीको एजेण्डा नबनेकोमा महिला सांसदहरुको गुनासो

निर्वाचनमा महिला सहभागिता बढाउन कुनै पार्टीको एजेण्डा नबनेकोमा महिला सांसदहरुको गुनासो

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गतेको निर्वाचनमा महिला सहभागिता बढाउने विषयमा कुनैपनि पार्टीको एजेण्डा बन्न नसकेको महिला सांसदहरुले गुनासो गरेका छन् । 

सोमवार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै महिला सांसदहरुले यस्तो गुनासो गरेका हुन् । बैठकमा सांसदहरुले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिलाहरुको एक तिहाई सहभागिता अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।   सांसदहरुले निर्वाचन आयोगले बनाएको आचारसंहितालाई कार्यान्वयन गर्नपनि माग गरे ।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचनमा एक तिहाई महिला उम्मेद्वार बनाउनुपर्ने निर्वाचन आयोगको मस्यौदा जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले स्थानीय निर्वाचनमा आयोगले बनाएको कार्यविधिमा भाषा नमिलेको बताइन् । सांसद पाण्डेले आगामी निर्वाचनको लागि आयोगले कार्यविधि, निर्देशन वा आचारसंहितामा राखेर कम्तिमा सबै दलले दिएको उम्मेद्वारीमा एक तिहाई नघट्ने गरी महिलाहरुको उम्मेद्वारी दिनुपर्ने व्यवस्था हुनुपर्ने बताइन् । 

उनले समानुपातिक निर्वाचन प्रणाली दलित समुदाय, सिमान्तकृत समुदाय, अल्पसंख्यक समुदाय र लामो समयसम्म राजनीतिक क्षेत्रमा काम गरेको अग्रज पुरुषहरु पनि संसद बन्नुपर्ने भएपनि सबैभन्दा बढी महिला मात्रै समानुपातिकबाट संसदमा पुग्दा पुरुषहरुको उपस्थिती कम भएको बताइन् । उनले प्रदेश र प्रतिनिधि सभामा पुरुषको पनि समानुपातिक सांसद बनाउने विषयमा सबै संवेदनशील हुनुपर्ने अवस्था रहेको उल्लेख गरिन् । 

त्यस्तै नेकपा एमालेकी सांसद विमला विकले प्रत्यक्ष निर्वाचनको लागि राजनीतिक पार्टीहरुको महिला सहभागिता बारे एजेण्डानै बन्न नसकेको बताइन् । उनले राजनीतिक पार्टीहरुले आफ्नो सरकार आउँदा लोकल रक्सिलाई ब्राण्डेड बनाउने र सडक कालोपत्र गर्ने योजना बनाएपनि पार्टीबाट यति प्रतिशत महिला उम्मेद्वार बनाउँछौं भन्ने एजेण्डा बन्न नसकेको बताइन् । 

उनले कुनै पार्टीको शीर्ष नेताले आफ्नो पार्टीले खुलातर्फ २० प्रतिशत महिलाहरुलाई उम्मेद्वार बनाउँदैछौं भनेर भाषण गरे अर्को पार्टीले २२ प्रतिशत वा ३० प्रतिशत घोषणा गर्ने उल्लेख गरिन् । सांसद विकले निर्वाचन आयोगको आचारसंहिता अनुसार महिला उम्मेद्वार नआए आयोगको कमप्युटरले नै सपोर्ट नगर्ने प्रणालीको विकास गर्नुपर्ने बताइन् । उनले निर्वाचन प्रणाली महँगो भएको गुनासो गरिन् ।

त्यस्तै,नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले अहिलेको निर्वाचन प्रणाली निष्ठापूर्वक राजनीतिक गर्नेको पक्षमा नभएको भनाई राखिन् । उनले निष्ठाको राजनीतिक मात्रै गर्ने र अन्य गतिविधिमा सहभागीता नगर्नेहरुको लागि निर्वाचन लड्न गाह्रो रहेको बताइन् । सांसद शर्माले यस्ता नेताहरुले निर्वाचनदेखि भाग्नुपर्ने अवस्था रहेको बताइन् । सांसद शर्माले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिलाको सहभागिता बडाउने विषयमा सबैको एकमत रहेको भनाई राखिन् । 

Logo