नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु आज राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् ।
उनले आज प्रधानमन्त्री शेर बहादुर देउवासहित विभिन्न दलका अध्यक्ष लगायतसँग भेटवार्ता गर्ने कार्यसुची छ । सबैभनदा पहिला बिहान नौ बजे सङ्घीय संसद् भवनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ताको कार्यक्रम तय भएको छ । त्यसपछि सङ्घीय संसद् भवनमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
संसद् भवनमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
३ दिने नेपाल भ्रमणमा रहेका अध्यक्ष चान्शुले भोलिपनि राजनितिक भेटवार्तामा व्यस्त हुनेछन् । उनले भोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका छ । अध्यक्ष लीले भोलि भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । नेपालको चार दिने भ्रमणका क्रममा अध्यक्ष ली हिजो नेपाल आएका थिए । अध्यक्ष लीको सम्मानमा सभामुख अग्नी प्रसाद सापकोटाले रात्रिभोजको आयोजना गरेका थिए । त्यसअघि सभामुख सापकोटा र अध्यक्ष ली बीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा छ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।





























प्रतिक्रिया