चुनावको मुखैमा किन आए ली नेपाल ?

चुनावको मुखैमा किन आए ली नेपाल ?


पछिल्लो समय नेपालमा चिनियाँ चासो बढिरहेको छ । चीनका नेताहरुको महिनादिन बिराएर हुने गरेको नेपाल भ्रमणले विभिन्न प्रश्न उब्जाएको छ ।

यसैबिच सोमबार चीनका वरिष्ठ नेता ली जान्सु काठमाडौं आइपुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी भइरहेका बेला भइरहेको चिनियाँ उच्च अधिकारीहरुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

के हो त चिनिँया नेता ली को नेपाल भ्रमणको उद्देश्य ? 
चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेयता काठमाडौं ओर्लिने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । चीनको संविधानअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् ।

तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरीयतामा ली पर्छन्। सन् २०२२ को मार्च अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए। नेपालसहित चार देशको भ्रमणका लागि ली७ सेप्टेम्बरमा बेइजिङबाट उडेका थिए ।

७ देखि१० सेप्टेम्बरसम्म रुस भ्रमण गरेका चिनियाँ नेता लीले १० देखि १२ सेप्टेम्बरसम्म मंगोलिया भ्रमण गरेका छन् । सोमबारकाठमाडौं ओर्लेका लीले १५ देखि १७सेप्टेम्बरसम्म दक्षिण कोरिया जाने कार्यतालिका छ।रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बरमा रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए । पुटिनसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनको ’रणनीतिक मार्गदर्शन र व्यक्तिगत प्रयास’ र चीन–रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वयले नयाँ युगको विकासले बलियो गति कायम गरेको बताएका थिए ।

दुई देशबीचको राजनीतिक आपसी विश्वास, रणनीतिक समन्वय र व्यावहारिक सहयोग अभूतपूर्व स्तरमा पुगेको भन्दै छिमेकी राष्ट्रहरूबीच असल मित्रता र विन–विन नीतिले सम्बन्ध बलियो भएको पनि बताएका थिए । कोरोना महामारीपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका लिको रुस भ्रमणलाई पश्चिमा राष्ट्रहरुले भने नजिकबाट नियाली रहेका छन् । युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा भएको चिनियाँ तेस्रो वरीयताका नेताको भ्रमणलाई रुसलाई गरिएको समर्थनको रुपमा व्याख्या गरेका छन् । मंगोलिया भ्रमणका क्रममा पनि उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए । 

को हुन् ली?
ली २०७४ चैतमा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पोलिटिकल ब्यूरोको स्थायी समितिको सदस्यमा नियुक्त भएका थिए । उनी चीनको १३ औँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्षमा पनि निर्वाचित भएका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरोका सातजना स्थायी समिति सदस्यमध्ये एक हुन्। त्यसअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीको १६औँ र १७औँ केन्द्रीय समितिमा वैकल्पिक केन्द्रीय सदस्य थिए ।

१८ औँ केन्द्रीय समितिले उनलाई सदस्यमा नियुक्त गरेको थियो । सन् १९५० मा चीनको हपेइ प्रान्तको पिङ्सानमा जन्मेका ली हान समुदायका व्यक्ति हुन्।सन् १९७५ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । उनीसँग चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न प्रान्तीय कमिटीका महत्वपूर्ण पदमा रहेर काम गरिसकेको अनुभव छ ।

किन आए नेपाल ?
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी भइरहेका समय भएको लीको भ्रमणलाई नेपालमा हालैका महिनाहरूमा बढिरहेको अमेरिकी चासोसँग जोडेर हेर्न थालिएको छ । त्यसैगरी पश्चिमा राष्ट्र र विशेष गरी अमेरिकाले तिब्बत र ताइवान मामिलामा आक्रामक नीति लिएपछि चीनले छिमेकी मुलुकमा त्यसको प्रभावबारे बुझ्न रसंसद्बाट कुनै पनि यस्ता कानुनहरु अघि बढ्न नहुने कुराको सुनिश्चिताबारे खोजी गर्र्नु उनको भ्रमणको उद्देश्य रहेको चर्चा छ । उच्च परराष्ट्र स्रोतका अनुसार नेपाल र चीनका व्यवस्थापिकाबीच सहकार्य सुदृढ गर्नेसम्बन्धी एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने तयारी पनि गरिएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले यो उच्चस्तरीय भ्रमणले नेपाल चीनबीचको मित्रतालाई थप अभिवृद्धि गर्ने टिप्पणी गरेको छ। चिनियाँ नेताको भ्रमणले आवश्यक प्रतिबद्धता कार्यान्वयनका लागि चीनको गम्भीरता झल्काउने पनि दूतावासले जनाएको छ । विश्वव्यापी रूपमा देखा परिरहेको नाटकीय भूराजनीतिक परिवेशमा ’हिमालय क्षेत्रमा स्थिरता र समृद्धि’ कायम राख्नु नेपाल र चीनको साझा हितमा रहेको दूतावासले जनाएको छ । 

२०औं राष्ट्रिय सम्मेलनबाट अवकाश लिँदै ली
नेपाल भ्रमण गरेको करिब एक महिनापछि चिनियाँ जनकंग्रेसका स्थायी कमिटी अध्यक्ष लीले पदबाट अवकाश लिने भएका छन्। अक्टोबर १६ देखि सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय सम्मेलनमा सी जिनपिङले तेस्रो कार्यकाल अनुमोदन गराउनेछन् भने लीले पदबाट बिदा लिने भएका छन् । 

के छ नेपालमा कार्यक्रम ?
गत अप्रिलमा भएको भर्चुअल वार्ताका क्रममा सभामुख सापकोटाले चिनियाँ स्थायी कमिटी अध्यक्ष लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा लिले समकक्षी सापकोटासहित शीर्षस्थ नेताहरूलाई भेट्ने गर्ने कार्यक्रम छ।होटल सोल्टीमा आवासको व्यवस्था गरिएका उनलाई सभामुख सापकोटाले सोही होटलमा रात्रीभोज दिएका छन् । लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

बुधबार लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटघाट गर्नेछन् । बुधबार नै अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार नै लीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

Logo