नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम चाँडै सम्पन्न हुन्छ -उपराष्ट्रपति पुन

नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम चाँडै सम्पन्न हुन्छ -उपराष्ट्रपति पुन

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको हाे । 

भेटमा उपराष्ट्रपति पुनले नेपाल र जर्मनीबीचको ६ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउँदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए । 

साथै उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोसिस गरिरहेको समेत बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने जनाए । 

उनले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ् गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए । उनले लोकतन्त्रको सुदृढ्को महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिएका थिए ।  

राजदूत डा. प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह समेत गरेका थिए । आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने उनले विश्वास समेत व्यक्त गरे । 

Logo