नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालक र संरक्षकबाट जानीबुझी खुलेआम संविधान मिच्ने काम भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा माओवादीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको टिप्पणी गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम प्रतिगमनको नयाँ स्वरुप भएको उनको भनाई थियो ।
‘गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ ।’ उनले भने, ‘संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो ।’
साथै अध्यक्ष प्रचण्डले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको पनि बताए ।
‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन् ।’ उनले भने, ‘सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडी बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’































प्रतिक्रिया