निर्वाचन आयोगलाई निर्णय पूनर्विचार गर्न गाउँपालिका महासंघको आग्रह

निर्वाचन आयोगलाई निर्णय पूनर्विचार गर्न गाउँपालिका महासंघको आग्रह


गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तह निर्वाचमा उठेका उम्मेदवारहरुले ढिलो खर्चको विवरण बुझाएबापत लिएको जरिवाना पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

आयोगको निर्णयले भर्खरै राजनीतिको मूलाधारमा आउन लागेको सीमान्तकृत नागरिकलाई आतंकित बनाएको भन्दै यस्तो निर्णयमाथि पुनर्विचार गर्न एवं कानूनको संशोधन गर्न समेत महासंघले माग गरेको छ ।

जसले चुनावमा हजार रुपैयाँ पनि खर्च गरेका छैनन्, उनीहरूलाई सिधै डेढ लाख जरिवाना गर्ने र नतिरे कालोसूचीमा राख्ने आयोगको निर्णयले समावेशी अभ्यासबाट भर्खरै राजनीतिको मूलधारमा आउन लागेका सीमान्तकृत नागरिकलाई आतंकित बनाएको महासंघले जनाएको छ ।

महासंघले खर्चको विवरण नबुझाएका उम्मेदवारहरुलाई थप केही दिनको समयावधि दिन पनि आयोगलाई आग्रह गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई अनुरोधपत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।

यसप्रकारका कारबाहीका विषयले विद्यमान निर्वाचन प्रणालीमा नै विकर्षण ल्याउने र त्यस प्रकारका लक्षित समुदायहरुको निर्वाचनमा प्रतिस्पर्धा गर्ने दर घट्न जाने भएकोले उक्त कानुनलाई नेपालको सामाजिक, भौगोलिक, राजनीतिक र शैक्षिक परिवेशलाई न्यायिक दृष्टिमा राखी व्यवहारिक हुनेगरी संशोधन गर्नसमेत नेपाल सरकार र सम्बद्ध सबै राजनीतिक दलहरुलाई महासंघले अनुरोध गरेको छ ।

आयोगले गरेको जरिवाना विभिन्न राजनीतिक, भौगोलिक, लैंगिक, जातीयता आदि परिवेशका कारण पूर्णरुपमा कार्यान्वयन हुन व्यवहारिक रुपले कठिन देखिने महासंघको ठहर छ । 

Logo