मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु-मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् ।
बिहीवार मुस्लिम आयोगको केन्द्रिय कार्यलयमा नै एक कार्यक्रमको आयोजना गरी आयोगले नेपालीहरुको महान चाड बडा दशैँ एवं शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् । उनले नेपालका केही जिल्लाहरुमा हिन्दु–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पु-याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको बताए ।
अन्सारीले हिन्दु–मुस्लिमबीच झगडा नभइ प्रतिगामी तत्वहरुले धार्मिक सहिष्णुतालाई खलल पु-याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाए । उनले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताए ।
उनले भने- ‘हामी सबै नेपाली हौँ, मानव हौँ । समग्र देशको, नेपालीको हीतको काम हामी सबै मिलेर गर्नुपर्छ । हामी कहीँ कतै सुन्छौँ मुस्लिम–हिन्दुको झगडा भयो रे, त्यो कुनै हिन्दु–मुस्लिमको कुनै द्वन्द्व भएको होइन, केही तत्व र घुसपेठियाहरुको काम हो । जुन हाम्रो सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पु-याउने प्रयास भएको छ ।’
अध्यक्ष अन्सारीले नेपाल बहुजाति, बहुभाषि र बहुसांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने पनि बताए ।
आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरुले बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो ।





























प्रतिक्रिया