सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनमा अन्तिम कसरत, आजै टुंग्याउने

सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनमा अन्तिम कसरत, आजै टुंग्याउने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँट आजै टुंग्याउने तयारी गरेको छ । 

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रुप पाउने भएकाले आजै सहमतिमा हस्ताक्षर गर्ने सम्मको तयारी छ । त्यसका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदल सहित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसिरहेको कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । 

सिट बाँडफाँडमा सहमति जुटाउनकै लागि हिजो पनि अबेर रातीसम्म बैठक बसेको थियो । बैठकलाई निष्कर्षमा पु-याउन आज बिहान दलहरुका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेद्वारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।
 

Skip This
Skip This
Logo