हिमाली जिल्ला मनाङबाट राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनांगे निर्विरोध हुने भएका हुन् ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनाङे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनाङे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।
तर, पछि मनाङेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनाङेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकै कारण उनी निर्विरोध हुन लागेका हुन् ।
गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।
एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभातर्फ एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मख्या गुरुङले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा ‘क’ मा एमालेका राजनबहादुर गुरुङ, कांग्रेसका मुनिन्द्रजङ गुरुङ र राप्रपाका मिफेल धिन्दु लामाले मनोनयन दर्ता गराएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचनमा मनाङमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार ४ सय ९८ महिला गरी कुल ६ हजार ७ सय ७९ मतदाता छन् ।





























प्रतिक्रिया