गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् ।
भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।
गृहमन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाँणले भने , ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’
उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउँदै राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए ।
साे क्रममा राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथै शुभकामना व्यक्त गरिरहेको बताइन् । पर्यटन विकासका लागि नेपाल भ्रमणमा आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने उनको भनाइ थियो ।
राजदूत यान्छीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट दिएकी छन् ।





























प्रतिक्रिया