यस्तो छ दाङको चुनावी प्रतिस्पर्धाः ‘हेभिवेट’ नेतादेखि पूर्वसहकर्मीबीच भिडन्त

यस्तो छ दाङको चुनावी प्रतिस्पर्धाः ‘हेभिवेट’ नेतादेखि पूर्वसहकर्मीबीच भिडन्त

केन्द्रबिन्दु संवाददाता
0
Shares

आगामी संसदीय निर्वाचनका लागि उम्मेदवारहरू जनताका घरदैलोमा पुगेर मत माग्ने कार्य सुरू भइसकेको छ। क्रियाशिल राजनीतिक दलका प्रतिनिधिदेखि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरिसकेपछि अहिले उम्मेदवारहरू मतदाताका घरदैलोमा पुगेर मत माग्न सुरू गरेका हुन्। 

मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको चुनावी प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा पोखरेलले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार रेखा शर्मासँग भिड्नुपर्नेछ। 

त्यस्तै बहालवाला शहरी विकासमन्त्री मेटमणि चौधरी पनि दाङ १ बाट उम्मेदवार बनेका छन्। यस क्षेत्रमा उनले पुर्व सहकर्मी एमालेकी उम्मेदवार शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

यसैगरी दाङको क्षेत्र नम्बर ३ मा पुर्वमन्त्री दीपक गिरि र पत्रकारिता र गायन क्षेत्रबाट राजनीतिमा आएकी कोमल वलीबिच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता गिरी २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए भने एमालेकी ओलीले पहिलोपटक प्रत्यक्ष निर्वाचनका अनुभव गर्दैछिन्। 

पूर्वसहकर्मी शान्ता र मेटमणिको रोचक प्रतिस्पर्धा
दाङ निर्वाचन क्षेत्र १ मा एमालेकी शान्ता चौधरी र गठबन्धनका मेटमणि चौधरीबीच प्रतिस्पर्धा हुँदैछ। एमालेमा पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि र एमालेकी शान्ताबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

गत निर्वाचन मेटमणिले यही क्षेत्रबाट जितेका थिए भने शान्ता पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दैछिन्। विगतमा २ पटक समानुपातिक सांसद् बनेकी शान्तालाई प्रत्यक्ष चुनावमार्फत आफुलाई परिक्षित गर्ने चुनौती छ भने मेटमणिलाई विगतको विरासत जोगाउने चुनौती छ। विगतमा नेपाली कांग्रेसका स्व. नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको दाङ १ मा कांग्रेसको राम्रो पकड मानिन्छ।

गठबन्धनबाट उम्मेदवार बनेका मेटमणिलाई माओवादी, कांग्रेस, जनमोर्चा लगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता चौधरी एक्लै चुनावमा होमिएकी छिन्।यता पार्टीबाट टिकट नपाएपछि गंगा चौधरी हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी छिन्। 

२०७४ मा चुनाव जितेर संसदीय यात्रा सुरू गरेका मेटमणिलाई सत्ता गठबन्धनको उम्मेदवार भएकाले केही सहज जस्तो देखिन्छ। एमालेकी उम्मेदवार शान्तालाई भने क्षेत्र परिवर्तन गरेकाले असहज हुने आकलन गरिएको छ। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीको यो क्षेत्रमा बलियो संगठन छैन। गत स्थानीय तहको चुनावमा नेकपा एसले यस क्षेत्रमा १ जना वडाध्यक्ष र केही वडा सदस्य मात्रै जितेको थियो। जसमा प्राप्त वडाध्यक्षहरुको मत हेर्दा जम्मा २ हजार ३४१ मत मात्र छ।

सत्ता गठबन्धनमा पनि कांग्रेस र माओवादीको मत यस क्षेत्रमा बलियो छ। पार्टी बलियो हुँदाहुँदै पनि समाजवादीलाई टिकट दिइएको भन्दै केही असन्तुष्टी समेत यहाँ रहेकाले यदि असनुत्ष्टहरूले बिपक्षीलाई सहयोग गरेमा शान्तालाई फाइदा हुने देखिन्छ।

यता एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेकी गंगा नयाँ दलबाट उठेकाले निर्वाचन जित्ने सम्भावना कमजोर देखिन्छ तर उनले एमालेको मत भने काट्न सक्ने सम्भावना रहन्छ। 

त्यसो त दाङको क्षेत्र नम्बर १ देउखुरी उपत्यकामा पर्छ। जहाँ थारू समुदायको मत निर्णायक हुने गर्दछ। राजनीतिक दलहरूले थारू समुदायकै सेन्टिमेन्टले पनि मत तान्ने गरेका छन्। तर यो निर्वाचन भने विगतमा भन्दा फरक हुनेछ। किनभने यो निर्वाचनमा प्रतिस्पर्धामा उत्रिका सत्ता गठबन्धनका मेटमणी, एमालेकी शान्ता र एमाले छाडेर नयाँ दलबाट उम्मेदवारी दिएकी गंगा तिनैजना थारू समुदायका उम्मेदवार हुन्। जसका कारण यो चुनाव थारू समुदायको सेन्टिमेन्ट कमजोर पर्नेछ।

निर्वाचन क्षेत्र दाङ १ मा देउखुरी क्षेत्रका लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाहरु पर्दछन्। गत ३० वैशाखको स्थानीय तहको चुनाव अनुसार माओवादीले गढवा र राप्ती गाउँपालिका जितेको छ भने कांग्रेसले लमही नगरपालिका र राजपुर गाउँपालिका जितेका छन्। घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ नम्बर वडाहरु एमालेले जितेको छ।

स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेको मत बराबरी जस्तो देखिन्छ। कांग्रेसका उम्मेदवारहरुले २९ हजार ७५७ मत पाउँदा एमालेले २७ हजार २५ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवारहरुले १९ हजार २७६ मत पाएका छन् भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले २ हजार ५९६ मत पाएका छन्।

‘हेभिवेट’ शंकरसँग माओवादीकी रेखाको प्रतिस्पर्धा
दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता रेखा शर्माबीचको प्रतिस्पर्धा हुँदैछ। गत चुनाव जितेका माओवादी नेता कृष्णबहादुर महरा चुनाव नलड्ने भएपछि माओवादीबाट यस क्षेत्रमा शर्माले अवसर पाएकी हुन्। 

२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धन हुँदा पोखरेल र महरा दुवैको दाबी सोही क्षेत्रमा थियो। पछि माओवादी  केन्द्रले अडान नछाडेपछि पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभामा पठाइएको थियो । तर यो निर्वाचनमा भने महराले मैदान छाड्दा पोखरेललाई सहज हुने आकलन गरिएको छ। २०५१ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका पोखरेलले २०६४ मा समानुपातिक सांसद भएका थिए। २०७० सालको निर्वाचनमा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका नेता पोखरेल २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएका थिए।

यता यसअघि समानुपातिक सांसद् भएर मन्त्री समेत भइसकेकी माओवादी नेता शर्मा पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दैछिन्। २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद भएकी उनी सामान्य प्रशासन मन्त्री बनेकी थिइन्। 

एमालेका हेभिवेट नेता पोखरेल र माओवादीको महिला नेता शर्माबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। महराले मैदान छोडेसँगै पोखरेललाई चुनाव जित्न सहज हुने विश्लेषण एकातिर भइरहेको छ भने दाङमा कांग्रेसको पकड राम्रो भएकाले उनीमाथि गठबन्धन हावी हुने विश्लेषण पनि अर्कोतिर छ। 

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री रहेका पोखरेलले दाङमा पछिल्लो समयमा आफ्नो प्रभाव बढाउँदै लगेकाले गठबन्धनबाट उम्मेदवार बनेकी शर्मामाथि चर्को दबाब समेत छ। 

यस्तो छ कोमल वली र दीपक गिरिको प्रतिस्पर्धा
दाङ क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट कोमल वली उम्मेदवार बनेकी छिन् भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दीपक गिरि उम्मेदवार बनेका छन्। 

गायन क्षेत्रबाट राजनीतिमा आएकी कोमलले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सामना गर्न गइरहेकी छिन्। २०७४ सालको निर्वाचनको केही समय पहिला मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी ओली एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेकी छिन्। 

उता कांग्रेसबाट पूर्व मन्त्री दीपक गिरि प्रतिस्पर्धामा छन्। २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका गिरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सिँचाई मन्त्री भएका थिए। पाँच दलीय सत्ता गठबन्धनको साथ रहेका गिरिलाई तुलनात्मक रुपमा सहज हुने अनुमान गरिएको छ। गठबन्धनका कारण नेता गिरिलाई यसअघि चुनाव जितेका हिराचन्द्र केसीको पनि समर्थन रहने हुँदा थप सहज हुने कतिपयको आकलन गरिएको छ।

यस क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकामा निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गर्दै आएका थिए। तर पछि पाण्डेलाई एमालेले प्रदेशसभाको टिकट दिएको छ। ओलीलाई पार्टीमा भएको पहुँचका कारण राजनीतिमा वर्षौं संघर्ष र दुःख गरेका नेताहरूलाई पाखा लगाएर टिकट पाएको आरोप लाग्ने गरेको छ। तर ओलीले आफू दङ्गाली जनताको सेबक भएको बताउदै आएकी छिन्। पार्टीभित्र रहेको असन्तुष्टीका कारण ओलीलाई असहज हुने आंकलन भएपनि विगतमा एमालेले जितेको र संगठन बलियो भएका कारण आफ्नो जीत हुने एमालेको दाबी छ।

२०७४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमाले (नेकपा एसमा रहेका)का उम्मेदवार हालका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले गिरिलाई पराजित गरेका थिए। केसीले पनि यही क्षेत्रबाट टिकटको दाबी गर्दै आएका थिए। तर सत्ता गठबन्धनमा परेको भागबण्डाअनुसार यस क्षेत्र कांग्रेसको भागमा परेपछि केसीले टिकट पाउन सकेनन्।

Logo