रेमिट्यान्समा नयाँ रेकर्ड

रेमिट्यान्समा नयाँ रेकर्ड

केन्द्रबिन्दु संवाददाता
0
Shares

नेपालमा रोजगारीको अवसर नहुँदा अधिकांश नेपाली युवाहरु विदेशिने क्रम बढ्दै गएको छ । सरकारले देशभित्रै रोजगारीको अवसर सृजना गर्न नसक्दा नेपाली युवाहरु विदेशिन बाध्य भएका हुन् । अझै पनि विदेश जानकै लागि राहदानी लिन राहदानी विभाग अगाडि हजारौँ व्यक्ति लाइनमा बस्ने गरेको देख्न सकिन्छ । जसले आगामी दिनमा पनि नेपाली नागरिक रोजगारीकै सिलसिलामा विदेशिने क्रम जारी छ भन्ने संकेत गर्छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण निकै प्रभावित भएको वैदेशिक रोजगारी कोभिड संक्रमण कम भएसँगै ह्वात्तै बढेको छ ।

कोभिडपछि अर्थात् गतवर्ष ६ लाख बढी नेपाली रोजगारीको खोजीमा विभिन्न देशमा पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, चालु आर्थिक वर्षमा पनि विदेशिनेको संख्या बढ्दो क्रममा छ । सरकारले युवाहरुलाई उपयुक्त रोजगारी दिन नसक्दा दैनिक २ हजारदेखि ३ हजार बढी विदेशिएको तथ्याङ्क छ ।

कति जना नेपाली विदेशिए ?
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै ४ लाख १८ हजार नेपाली रोजगारीको खोजीमा विश्वको ११५ वटाभन्दा बढी देशमा गएका छन् । सरकारले विश्वको १११ वटा देशका लागि श्रम स्वीकृति खुल्ला गरेपनि रोजगारीको शिलशिलामा नेपालीहरु १११ वटाभन्दा बढी देशमा गएको तथ्याङ्क छ । विभागका अनुसार संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिई २ लाख ७५ हजार ६४३ जना र पुन: श्रम स्वीकृति लिई १ लाख ४२ हजार ५४८ जना विदेशिएका छन् । गत वर्ष १ लाख ६७ हजार ५१३ जना नयाँ श्रम स्वीकृति लिई विदेशिएका थिए भने १ लाख ३० हजार २१२ जना पुन: श्रम स्वीकृति लिई विदेशिएका थिए ।

चालु आर्थिक वर्ष सुरु भएदेखि रोजगारीको खोजीमा दैनिक २१ देखि २५ सयको हाराहारीमा नेपाली नागरिक विदेशिएका छन् । जस अनुसार साउनमा नयाँ श्रम स्वीकृति र पुन: श्रम स्वीकृति लिई ६३ हजार ३९ जना, भदौमा ७६ हजार ४०३ जना, असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना, मंसिरमा ६८ हजार ५६४ जना र पुसमा ६५ हजार ४६४ जना नेपाली रोजगारीको खोजीमा ११५ वटा देशमा पुगेका छन् ।

मलेसिया मुख्य गन्तव्य
नेपालीहरु विश्वका ११५ वटाभन्दा बढी देशमा गएपनि मलेसिया मुख्य गन्तव्य बन्न पुगेको छ । अधिकांश नेपालीहरु रोजगारीको खोजीमा मलेसिया पुगेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मलेसियामा मात्र १ लाख ६३ हजार जना नयाँ तथा पुन: श्रम स्वीकृति लिई पुगेका छन् ।

मलेसियापछि कतारमा नयाँ तथा पुन: श्रम स्वीकृति लिई ६६ हजार ४६५ जना, युएईमा ५५ हजार १३८ जना, साउदी अरेबियामा ३० हजार ६९१ जना र कुवेतमा २६ हजार १७० जना रोजगारीको खोजीमा पुगेका छन् ।

त्यसैगरी, रोमनियामा ७ हजार ३६० जना, दक्षिण कोरियामा ५ हजार ९६६ जना, माल्टामा ४ हजार ५०८ जना, जापानमा ४ हजार ३१८ जना, बहराइनमा ४ हजार १११ जना, ओमनमा २९ सय ३८ जना, साइप्रसमा २३ सय जना, माल्दिभ्समा २१ सय ४६ जना, पोल्यान्डमा १७ सय २८ जना, इजरायलमा ८८७ जना जोर्डनमा ६१९ जना, टर्कीमा १४८ जना र अन्य देशमा १६ हजार १६ जना नेपाली विदेश पुगेका छन् ।

रेमिट्यान्स आप्रवाहमा आकर्षक वृद्धि 
विदेशिने संख्यामा वृद्धि आएपछि पछिल्लो समय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ९५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको थियो । 

चालु आर्थिक वर्षको साउन महिना नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ, भदौमा ९४ अर्ब ८३ करोड रुपैयाँ, असोजमा ९४ अर्ब १ करोड रुपैयाँ, कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ, मंसिरमा१ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ र पुस महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । जुन हालसम्मकै उच्च हो ।

साउनदेखि पुस महिनासम्मको रेमिट्यान्स आप्रवाह हेर्दा हरेक महिनामा बढ्दै गएको छ । विदेशिने संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह पनि बढेको हो । रेमिट्यान्स बढेपछिअर्थतन्त्रको अन्य क्षेत्रमा पनि सुधार हुँदै गएको अर्थका जानकारहरु बताउँछन् ।

Logo