नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् ।
शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गरे ।
महराले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको जिकिरि गरे ।
उनले भने, ‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभाष भएको छ । मैले के पनि देख्दछु भने आर्थिक रुपले देश बिस्तारै शो डाउन हुँदैछ । व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जाँदैछ । यो कारण वास्तवमा हिजो राजनीतिक रुपले हेर्दा हिजो जुन व्यवस्था गठबन्धन भन्दा पहिला नेतृत्व गरेको सरकार थियो, नेकपा एमालेको केपी ओलीले नेतृत्व गरेको सरकार त्यो सरकारको असक्षमताका कारणले शुरु भएको हो । त्यसलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भएको छ । प्रतिगमन सच्याउने, संविधानसंगत बाटोमा हिँडाउने आवश्यक छ । अहिले पनि गठबन्धन अर्कोतर्फ पनि छ । त्यो गठबन्धन भनेको प्रतिगमनकारीहरुको गठबन्धन हो ।’
उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ । नेपालमा विदेशी लगानी कमजोर भएको छ । किन कमजोर हुन्छ ? विदेशी लगानी भित्र्याउनुपर्छ । हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन । देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ । हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ ।’





























प्रतिक्रिया