प्रचण्ड-नेपाल समूहको राजधानी केन्द्रीत विरोध प्रदर्शन शुरु, कुन नेता कहाँको जुलुशमा ?

प्रचण्ड-नेपाल समूहको राजधानी केन्द्रीत विरोध प्रदर्शन शुरु, कुन नेता कहाँको जुलुशमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आज प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा विरोध सभाको आयोजना गरेको छ ।

आज हुने विरोध कार्यक्रम शुरु भइसकेको छ । ठाउँ ठाउँबाट जुलुश निस्कएका छन् । राजधानीका मूख्य स्थानहरु कोटेश्वर, तीनकुने, वानेश्वर, कालीमाटी माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर लगायतमा जुलुश निस्किएकाले सार्वजनिक यातायातहरु रोकिएका छन् । सर्वसाधारणहरु हिंडेर गन्तव्यतिर गइरहेका छन् भने यातायात अस्तव्यस्त भएको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले आज गरिने विरोध सभामा पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताएका छन् ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उनले जानकारी दिए । मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए। विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

सहसंयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए । संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे।

कुन नेता कहाँको जुलुशमा सहभागी ?

१. माइतीघरः नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायत ।

२. डिल्लीबजार चारखालः वर्षमान पुन र वेदुराम भुसाल लगायत ।

३. लैनचौर : भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं लगायतका नेताहरु ।

४. कुपण्डोलः देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत ।

५. त्रिपुरेश्वर : कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापा लगायतका नेताहरु ।

६. प्रदर्शनी मार्ग : घनश्याम भुसाल र जनार्दन शर्मा लगायत नेताहरु ।

७. शान्तिवाटीकाः मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई लगायत ।

८. त्रिचन्द्र कलेजबाट : देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले लगायत नेताहरु

९. वाल्मिकी क्याम्पसः अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ लगायत नेताहरु ।

Logo