प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस्ः रामचन्द्र पौडेल

प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस्ः रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

शुक्रवार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए । 

नेता पौडेलले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए । उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताए । 
 
उनले भने, ‘एक भएर अघि बढ्नुपर्ने परिस्थिति आवश्यक्ता आयो, र अहिलेको निर्वाचनमा एक भएर अघि बढेका छौँ । आफ्ना पार्टीका सिद्धान्त, झण्डा सबैथोक छन्, तर हामी एउटा साझा मुद्दामा एक भएका छौँ । हामीले हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडासम्ममा सबैले समाजवादी संगठन बनेर कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ, कसरी सफल पार्न सकिन्छ, कसरी लोकतन्त्र बचाउन सकिन्छ भन्नेकुरालाई मनमा राखेर, अरु कुरा बिर्सेर, महान लक्ष्य राखेर एकता र समझदारी बनाउनु होला । आपसमा समझदारी बनाउनुस् । समझदारीको खाँचो छ । परिवर्तनको रक्षाका लागि पूर्ण रुपले आफूलाई समर्पित गरेर कसरी प्रश्तुत हुनुभएको छ, त्यो कुराबाट सबैले पाठ सिक्नुपर्छ । ’

उनले अगाडि थपे, ‘अहिलेको अवस्थामा हामीले आफ्ना पुराना कुरा बिर्सिएर भविष्यरुपी भएर भविष्य हेर्नुपर्छ । समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीको स्वर्ग अतितमा हुन्छ । भविष्य हेर्ने हो, देशलाई सुशासन दिने हो, र विदेश भौँतारिनु नपर्ने, गाउँमै रोजगारीको स्थिति सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने हो । पार्टीका कुरालाई बिर्सिएर यसमा लागौँ । प्रतिगामीलाई रोक्ने हाम्रो उद्देश्य हो । हामी जित्नुभन्दा पनि प्रतिगामीलाई रोक्नु ठूलो कुरा हो । अहिले राष्ट्रमाथि ठूलो चुनौती आएको छ । यो चुनौतीको लागि हामी एक हुनुपर्छ । प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा जानुस्, जनताको बीचमा जानुस्, जनतालाई सही कुरा बुझाउनुस्, कम्युनिष्ट र काँग्रेस किन मिले बुझाउनुस् । राष्ट्रलाई सबल र लोकतन्त्रलाई बचाउन हो भन्नुस् ।’ 

Logo