नेकपा विवाद: १ दिनभित्र निस्केला त निकास ?

नेकपा विवाद: १ दिनभित्र निस्केला त निकास ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद साम्य पार्न दिएको पाँच दिनको काउन्टडाउन !  अबको १ दिनभित्र निस्केलान् त निकास ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद साम्य हुने भन्दै दिएको पाँच दिनको टाइमलाइन नजिकिएको छ । गत बुधबार राति एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा ओलीले अबको पाँच दिनमा पार्टीभित्रको विवाद साम्य हुने दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भनेका थिए–‘हप्ता दश दिन होइन, एक हप्ताभन्दा यतै पाँच दिनमा फेरि म सँग प्रश्न गर्नुस्, के हुन्छ पार्टीको सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला ।’ ओलीले अन्तर्वार्तामा दाबी गरे अनुसार आजका दिनसम्म आउँदा चार दिन पुगेको छ । अब मात्र १ दिन बाँकी छ । यो १ दिनमा पार्टीभित्रको विवाद साम्य हुन्छ त ? भन्नेमा धेरैको चासो छ । करिब डेढ महिनादेखि चलेको पार्टीभित्रको विवाद साम्य पार्न भन्दै शुक्रबार कार्यदल गठन गरिएको थियो ।

नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । पार्टीभित्र देखिएको समस्या पार्टीभित्र नै समाधान गर्न कार्यदल गठन गरिएको पौडेलको भनाइ छ । कार्यदलले पार्टीभित्रका समस्या के हुन ? समाधान के हुन सक्छ ? भन्ने विषयमा केन्द्रीत रहेर प्रतिवेदन तयार पारि दुई अध्यक्षद्वयलाई बुझाउने छ ।

नव गठित कार्यदलमा महासचिव पौडेलसहित भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । कार्यदलमा नेकपाका तीन गुटलाई प्रतिनिधित्व गर्नेगरी समान दुई दुई जना सदस्य राखिएको छ । नवगठित कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश नम्बर ५ मुख्यमन्त्री पोखरेल रहेका छन् । त्यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य शर्मा र भुसाल रहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट स्थायी कमिटी सदस्य रावल र पाण्डे कार्यदलमा रहेका छन् ।

कार्यदलको पहिलो दिनको बैठक शनिबार करिब चार घण्टा बसेको थियो । तर पहिलो दिनको कार्यदलको बैठकमा अनौपचारिक कुराकानी मात्रै भएको विवरणहरु सार्वजनिक भएका छन् । आज पनि कार्यदलको बैठक बस्दैछ ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त कार्यदलप्रति असन्तुष्टि जनाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गर्न किन आवश्यक भयो भन्दै नेता खनाल, नेपाल र श्रेष्ठले प्रश्न उठाएको स्रोतले बतायो । शनिबार बिहान पार्टी अध्यक्ष दाहालको निवास खुमलटारमा पुगेर तीन नेताले सचिवालयको बैठक डाक्न समेत माग गरेका थिए ।

तीन शीर्ष नेताहरुको माग अनुसार नै भोलि (सोमबार) नेकपा सचिवालय बैठक बस्न सक्ने नेपाल निकट एक नेता बताउँछन् । पार्टीभित्रको सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको सहमति विना दुई अध्यक्ष बीचको सहमतिमा मात्रै बनाइएको कार्यदलको अर्थ नहुने उनीहरुको भनाइ छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला कार्यदल गठन गर्नु सकारात्मक भएपनि उक्त कार्यदललाई औपचारिकता दिन सचिवालय बैठक बस्नै पर्नेमा तीन शीर्ष नेताको एक मत छ ।

प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीभित्र देखिएको विवाद साम्य हुने दाबी गरेको केही समयमा गठन गरिएको कार्यदलले नेकपालाई निकास दिन्छ भन्ने अपेक्षा गरेका अधिकांसको मन शीर्ष नेताको असहमतिसँगै यतिबेला अमिलो भएको छ । शीर्ष नेताबाटै असन्तुष्टि आउँदा ओलीले दाबी गरेजस्तो पाँच दिनको टाइमलाइनमा नेकपाभित्रको विवाद साम्य हुने कुनै छाँटकाट देखिँदैन ।

नेकपाको स्थायी कमिटी बैठक गत असार १० देखि जारी छ । जारी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । राजीनामा माग गर्नेहरुमा प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षका नेताहरु रहेका छन् । नियोजित रुपमा आफ्नो राजीनामा माग गरिएकाले कुनै पनि हालतमा राजीनामा नदिने प्रधानमन्त्री ओलीको अडान छ । साथै, आफूलाई अंकगणितका आधारमा पदच्यूत गरिए पार्टी दुर्घटनाको बाटोमा जाने प्रधानमन्त्री ओलीले चेतावनी समेत दिँदै आएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा टसकोमस नहुँदा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

यसअघि साउन १८, १९ र २० गते वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्ष बीच छलफल भएको थियो । तर त्यतिबेलाको बैठकमा पनि कुनै ठोस नतिजा भने आउन सकेको थिएन । पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठक बस्नु पर्नेमा जोड दिँदै आएका छन् भने प्रचण्ड जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । दुई अध्यक्ष दुईतर्फ लाग्दा स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

गत असार १० गतेदेखि सुरु भएको पहिलो दिनको बैठकमा स्थायी कमिटीको बैठकमा छलफल गर्ने एजेण्डा तय गरी स्थगित भएको थियो । १२ गतेको बैठकमा सीमा विवादमा छलफल भएको थियो । १३ गतेको बैठकमा २१ स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका थिए । २१ सदस्यले धारणा राखेपछि १३ गतेको बैठक १४ गते मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकाले दुई दिनका लागि स्थगित गरिएको थियो ।

१४ गते मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले भारतीय राज्य संयन्त्रले हटाउने चलखेल सुरु गरेको र आफ्नै पार्टीका नेताबाट भारतीय पक्षलाई साथ रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्ति सार्वजनिक भएपछि १६ गतेको बैठकमा ओलीको राजीनामा माग गरिएको थियो । १६ गतेको बैठकमा बोल्दै प्रचण्डले ओलीको राजीनामा भारतीय पक्षले माग गरेको नभइ आफूले नै मागेको दाबी गरेका थिए ।

१७ गते बसेको बैठकमा पनि अधिकांस सदस्यले ओलीको राजीनामा मागलाई निरन्तरता दिएका थिए । राजीनामा माग गर्दै स्थगित गरिएको बैठक १८ गते बस्नेगरी स्थगित भएको थियो । १८ गते प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा अनुपस्थित भई एकलौटी रुपमा चालू संसद अधिवेशन अन्त्य गरेका थिए । त्यसपछि असार २० मा बैठक बस्ने मिति तय गरिएको थियो । २० गतेको बैठक पनि बस्न सकेको थिएन । पछि २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । दुई अध्यक्ष बीच अझै सहमति जुट्न नसकेको भन्दै असार २६ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । पछि देशभर बाढी पहिरो र डुबानका घटना बढेको भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

२ गतेका लागि तय भएको बैठक पछि ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । यस अवधिमा दुई अध्यक्ष बीच निरन्तर वान टु वान वार्ता भएपनि कुनै सहमति हुन नसक्दा ६ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ६ गतेका लागि तय भएको बैठक पनि बस्न सकेको थिएन । पछि साउन १३ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।

१३ गतेका लागि तय भएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेका थिए । पछि ओली पक्षको सहभागिता बिना नै बैठक सञ्चालन गरिएको थियो । बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । १३ गतेको बैठकमा २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागि भएका थिए ।

एकलौटी रुपमा बैठक स्थगित गर्ने ओली पक्षको निर्णय विधि सम्मत नभएको ठहर समेत बैठकले गरेको थियो । जुन बैठकलाई दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुले बहुमत स्थायी कमिटी सदस्यको बैठक भन्दै आएका छन् भने ओली पक्षका नेता तथा कार्यकर्ताले खुमलटार, बालुवाटार र कोटेश्वरमा बस्ने जस्तै कोठे बैठकको संज्ञा दिँदै आएका छन् ।

सत्तारुढ दलभित्रको यो अन्तरद्वन्द्वले कतिपय राष्ट्रिय मुद्धाहरु भने ओझेलमा परेका छन् । त्यसो त कोरोना महामारी नियन्त्रणमा लाग्नु पर्ने बेला कुर्सी तानातानमा लागेको भन्दै सरकारको विरोध पनि भइरहेको छ ।

Logo