माओवादी केन्द्रको घोषणापत्रः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा पनि संघ जस्तै

माओवादी केन्द्रको घोषणापत्रः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा पनि संघ जस्तै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धता जनाइएको छ । 

‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ ।’ घोषणापत्रमा उल्लेख छ । साथै प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिनेमा माओवादीको जोड छ ।   

त्यस्तै, माओवादी केन्द्रले राजनीतिक आन्दोलनबाट प्राप्त व्यवस्था रक्षा र अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताएको छ । ‘नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू– गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णायक भूमिका खेलेको तथ्य घाम जतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवं लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ ।’ घोषणापत्रमा भनिएको छ । 

साथै विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने,  गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजीविना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ । 

Logo