नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दावी गरेका छन् ।
नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीको दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उनले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कूलै सम्भव नभएको जिकीर समेत गरे । २७५ सिटमध्ये १३८ सिट प्रतिनिधिसभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पारे ।
उनले भने, ‘यस संविधान अन्तरगत अरु पार्टीहरुका लागि एकल बहुमत ल्याउन बिल्कूलै असम्भव छ । तर सम्भवनै नहुने होइन । बहुमत आउन त सम्भव नहुने कसरी भयो र ? २७५ सिट छ । त्यसमध्ये १३८ आएपछि त बहुमत हुन्छ । अहिलेको हाम्रो मिसन १५० हो । १५० गन्तव्य । १५० सिटको गन्तव्य राखेर त्यो टार्गेट छुनेगरी हामी निर्वाचन अभियानमा गएका छौं । नेपाली जनताले नेकपा एमालेको गरेको कामहरु देखेको छ । विकासहरु देखेको छ । टनेल युगमा नेपाललाई प्रवेश गराएको देखेको छ । अन्तरिक्षमा सानो भएपनि सेटलाईट पठाएको देखेको छ । अन्तरिक्षमा हाम्रो सेटलाईट राख्ने स्थान हामीले सुरक्षित गरेका छौं । हामीले पानी जहाजको कुरा गर्दा मजाक उडाउनेहरु घोषणा पत्रमा पानी जहाज अघिल्लै चुनावमा राखेर छाप्न बाध्य भए । रेलको कुरा गर्दा मजाक उडाउनेहरुले अस्ति म आफैं गएर रेल चढेर आएको देखेर आश्चर्य चकित भए होला । २ सय देखि ५ सय सम्म लाग्ने ठाउँमा अहिले ३५ रुपैँयामा हामी सजिलै पुग्छाैं । किनभने रेलको भाडा ३५ रुपैयाँ मात्रै छ भनेर त्यहाँका जनप्रतिनिधिहरुले बोलेको सुने होला । यो सबै चिज एमालेले गरेको देखेको छ ।’
उनले अगाडि थपे, ‘अव ११० सिटमा अथवा पपुलर मतमा, लोकप्रिय मतमा नेकपा एमालेलाई ५५ सिट दिए, ५६ सिट दिए अथवा ५१ प्रतिशत भोट दिए त पुगी हाल्छ । ५१ प्रतिशत भोट नेकपा एमालेलाई दिँदैन भन्ने कुरो कसरी हुन सक्छ ? अर्को कुरा, ८३ सिट जति चाहिन्छ । १६५ प्रत्यक्षतर्फको निर्वाचनमा । ११० सिटसम्म एमालेलाई दिँदा के बिग्रन्छ ? राम्रो हुन्छ नि त । स्थिरतामा हुन्छ देशमा । स्थायित्व हुन्छ । त्यो जनताले बुझेको छ । त्यसकारण यसपल्ट जनता आईरहेको छ । अहिले विभिन्न पार्टीमा रहेका नेता, कार्यकर्ताहरु हाम फालेर नेकपा एमालेमा प्रवेश गरिरहनु भएको छ । म उहाँहरुलाई स्वागत गर्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । यो राष्ट्रमा स्थिरता, स्थायित्वको मिसन । एमालेको बहुमतको मिसन भनेको विकासको मिसन हो । त्यसका लागि बहुमतको मिसन हो । किनभने स्थिरता, स्थायित्वका लागि बहुमत चाहिन्छ । यसका लागि योगदान गर्ने सबैलाई म धन्यवाद भन्न चाहन्छु । सम्भव छ, जनताले साथ दिँदा । जनताले एमालेलाई साथ दिन्छ यो पटक । मेरो विश्वास छ–विश्वास मात्रै होइन् दृढ विश्वास छ । त्यसकारण जनताले एमालेलाई साथ दिन्छ । र, एमालेले शान्दार बहुमत ल्याउँछ । एकल बहुमत ल्याउँछ । संविधानले रोकेको छैन । असम्भव छैन ।’
अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिवद्धताहरु पूरा गर्नका लागि ल्याइएको बताए । आफ्नो चुनावी घोषणा पत्रलाई अन्य पार्टीहरुले झैं निरर्थक चर्चाको विषय नबनाएको उनको भनाई थियो ।
उनले भने, ‘हामी रेम्पोन्सिबल भएर यसको भुक्तानी गर्न तयार छौं । आफ्नो बचन, बचन मात्रै होइन, यो एक्सनका लागि हो । त्यसकारण हामो कमिटमेन्ट एक्सनका लागि हो । हाम्रो कमिटमेन्ट एक्सनमार्फत् गो एचिभ गर्नका लागि हो । तसर्थ, हामी यसलाई एउटा निरर्थक कुरा मात्रै बनाईरहेका छैनौं । निरर्थक चर्चाको विषय मात्रै बनाईरहेका छैनौं । यो एउटा ग्यारेन्टी पत्र हो । यो जिम्मा, जमानी धितो केही पनि नभएको, पृष्ठभूमिमा केही नभएको, कोही जवाफदेही नभएको, भनिदिएको एउटा कागजको खोष्टो होइन ।’





























प्रतिक्रिया