एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने दाबी गरेका हुन् ।
‘आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछौं ,’ उनले भने ।
साथै अध्यक्ष ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको टिप्पणी गरेका छन् । ‘चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ उनले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन ।’
एमालेले शुक्रबारदेखि चुनावी अभियान थालेको हो । यसपटक ओली सुदूरपश्चिम हुँदै पूर्वतिर चुनाव प्रचार प्रसारमा लाग्ने भएका छन् । ओली २७ कात्तिकसम्म जिल्ला जिल्लामा आयोजित चुनावी सभामा सम्बोधन गर्नेछन् ।





























प्रतिक्रिया