इलाममा खनाल बलिया कि नेम्वाङ ?

इलाममा खनाल बलिया कि नेम्वाङ ?

केन्द्रबिन्दु
0
Shares

आगामी निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्। मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मुख्य प्रतिस्पर्धा हुँदैछ।

गत वर्ष एमालेसँग छुट्टिएर माधव नेपाल समूहले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी सत्ता गठबन्धनसँग छ भने एमालेले राप्रपा, राप्रपा नेपालसँग केही ठाउँमा चुनावी तालमेल गरेको छ। त्यस कारणले पनि यस निर्वाचनमा मुलुकका केही स्थानमा पूर्व सहकर्मीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ। 

इलाम जिल्ला पनि यस्तो जिल्ला हो जहाँ दुई शीर्ष नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विगतदेखि हरेक चुनावमा सहकार्य गर्दै आएका सहकर्मीहरू भने यस निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्। 

झलनाथ खनाललाई महेश बस्नेतको चुनौती
इलाम १ मा नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। यसअघि खनाललाई चुनाव जिताउन मोर्चामा खटिँदै आएमा बस्नेत यो चुनावमा भने खनालका लागि चुनौती बनेका छन्।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका नेता खनाल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् भने बस्नेत एमालेबाट नयाँ अनुहार हुन्। २०४८, २०५१, २०६४, २०७० र २०७४ सालमा लगातार यही क्षेत्रबाट चुनाव जितेका खनाल यो पटक भने विगतमा चुनाव जित्दै आएको एमालेविरूद्ध नै चुनावी मोर्चामा आइपुगेका छन्। 

एमालेकाविरुद्ध चुनाव लड्न गइरहेका खनाललाई सत्ता गठबन्धनको साथ रहे पनि चुनाव जित्न भने चुनौती देखिन्छ। अहिलेसम्म खनाललाई सूर्य चिह्नमा मतदान गरेर जिताएका मतदाताले अब कलम चिह्नमा भोट हाल्नुपर्नेछ। ३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रूखमा र गोलाकारभित्र हँसिया हथौडामा भोट हाल्नेहरूको भोटसमेत आफू तिरै तान्नुपर्ने बाध्यता छ। नेकपा एकीकृत समाजवादीको कमजोर प्रभावका कारण खनाललाई यो चुनावमा असर पर्ने देखिन्छ ।  

खनालको निर्वाचन क्षेत्रमा पर्ने ठुलो पालिका सूर्योदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय निर्वाचनमा नेकपा एसका उम्मेदवारले निकै कम मत ल्याएका थिए । नेकपा एसको एकल मत हिसाब गर्दा यो निर्वाचन क्षेत्रमा ९ हजार ४८१ मत मात्रै छ। तर यो निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन्। कांग्रेसको २५ हजार ७७२ र माओवादी केन्द्रको १ हजार २३५ मत रहेको छ । नेकपा एमालेले भने २६ हजार २३३ मत स्थानीय तहमा ल्याएको थियो । थोरै मतान्तर मात्रै रहेको इलाम क्षेत्र नम्बर १ मा खनाललाई जित आफ्ने विरासत जोगाउन कडै मेहनत गर्नु पर्ने चुनौती देखिन्छ । 

नेता खनालले गत निर्वाचन यही क्षेत्रबाट एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रूपमा जितेका थिए। त्यतिबेला खनालले निकटतम प्रतिस्पर्धीलाई १७ हजार २६७ मतान्तरले पछाडि पारेर विजयी बनेका थिए। खनालले ३६ हजार ८०५ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए। सूर्योदय नगरपालिका, माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरपालिकाको वडा १० निर्वाचन क्षेत्र १ मा पर्छन्।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका रणबहादुर राई सूर्योदयको मेयरमा निर्वाचित भएका थिए। स्थानीय निर्वाचनमा नेकपा एसले एकल प्रतिस्पर्धा गरेर सूर्योदयका ५ वटा वडा (४, ६, ९, १० र १२) को अध्यक्षसमेत जितेको थियो। राई १२ हजार ४३१ मत ल्याएर मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका काजीमान कागतेले १० हजार ५७९ मत पाएका थिए। कांग्रेसले सूर्योदयका वडा १, ३, ५, ७, ११ र १४ तथा एमालेले वडा २ र १३ जितेको थियो।

स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्ष पनि सत्ता गठबन्धनबाट नेकपा एसकै भागमा परेको थियो। तर गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहेका गठबन्धन उम्मेदवार नेकपा एसका जितबहादुर राईलाई पराजित गर्दै एमालेका कुशबहादुर थेबे अध्यक्ष निर्वाचित भए। माई नगरपालिकाको मेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका दीपक थेबे मेयरमा विजयी भए। रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार विजयी भए।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा विभाजित भएपछि त्यसको प्रत्यक्ष र विशेष प्रभाव इलाममा पनि पर्‍यो। यो जिल्ला नेता खनालको मात्र नभएर एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहजिल्ला पनि हो। नेकपा विभाजन हुँदा खनाल नेकपा एसतिर लागे भने नेम्वाङ एमालेमै रहे। पार्टी विभाजन भएर दुईवटा बनेपछि विगत लामो समयदेखि कम्युनिस्ट गढको रूपमा मानिँदै आएको इलाममा कम्युनिस्टहरू नै दुई चिरा परेका छन्।

यो निर्वाचनमा खनालको प्रतिस्पर्धी बनेका बस्नेत सुरुदेखि नै नेम्वाङनिकट भएकाले उनकै लाइनतिर गएका थिए। पार्टी विभाजित हुँदा बस्नेत इलाम नगरको प्रमुख थिए। जनप्रतिनिधिका रूपमा उनले एमाले छाडेनन्। एमालेबाट विजयी सबैजसो जनप्रतिनिधि उनकै प्रभावका कारण एमालेमै बसेका थिए। खनालनिकट नै मानिने सन्दकपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष उदयबहादुर राई, उपाध्यक्ष शोभा पराजुलीले पनि खनालको साथ छाडिदिएका थिए। नेता खनाल भने आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गर्छन्। खनाल नै पुनः यो क्षेत्रमा विजयी हुने नेकपा एसका जिल्ला अध्यक्ष भक्त केसीको दाबी छ।यता एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी भने इलाम–१ खनालबाट इलामको विकास सम्भव नभएकोले त्यो कुरा यस क्षेत्रका मतदाताले बुझिसकेको बताउँछन्।

सुवास नेम्वाङलाई कांग्रेसका डम्बर खड्काको चुनौती
यता इलाम २ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। उनीसँग नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का प्रतिस्पर्धामा छन्। २०४८ यता निरन्तर संसदमा रहँदै आएका नेता नेम्वाङलाई यो पटक सत्ता गठबन्धनसँग चुनाव जित्न भने त्यति सहज छैन। २०५६ यता इलाम-२ बाट चुनाव लड्दै आएका नेम्वाङले त्यसयताका कुनै चुनावमा पराजय बेहोर्नुपरेको छैन। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा देशैभर एमाले, कांग्रेसका उम्मेदवार पराजित हुँदा समेत इलामको दुवै निर्वाचन क्षेत्रबाट एमालेका नेम्वाङ र खनाल विजयी भएका थिए।अहिलेसम्म लडेका सबै चुनाव जितेका नेता नेम्वाङलाई यो निर्वाचनमा चुनाव जित्नका निम्ति गठबन्धन तगारो बन्ने देखिन्छ। 

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन्। स्थानीय चुनावमा यस क्षेत्रअन्तर्गत पर्ने वडाहरूमा वडाध्यक्षले पाएको मतअनुसार यो क्षेत्रमा कांग्रेसको मत एमालेभन्दा केही बढी देखिन्छ। कांग्रेसले ३२ हजार ९७८ मत पाएको थियो भने एमालले ३२ हजार ५२७ मत पाएको थियो। माओवादीले २ हजार ७१७, जसपाले ५५४, एकीकृत समाजवादीले २७७ र  राप्रपाले  १३० मत पाएका थिए। यसरी गठबन्धन दलका सबै मत जोड्दा यस क्षेत्रमा गठबन्धन एमालेभन्दा बलियो छ। 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा गठबन्धन दलहरू एमालेभन्दा अघि देखिन्छन्।यद्यपि बाँकी सबै दल मिल्दा पनि ४ हजार हाराहारी मतले मात्रै गठबन्धन दल अगाडि देखिन्छ। त्यस कारण त्यसको पूर्ति प्रतिनिधिसभाको निर्वाचन सहजै हुने एमाले नेताहरूको दाबी छ। 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार रहेका एमाले नेता नेम्वाङले  ३६ हजार ५१७ मत पाएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत पाएका थिए। एमाले उपसचिव रवीन्द्र सुवेदी यस क्षेत्रमा चुनाव जित्न एमालेलाई कुनै कठिन नहुने बताउँछन्। मतदातालाई सत्ता गठबन्धनसँग कुनै चासो नै नभएको उनको भनाई छ। तर कांग्रेस सभापति खड्का भने अहिलेको गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतमाथि अझ बढी मत बढाउने दाबी गर्छन्।

Logo