चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृहलाई निर्वाचन आयोगको निर्देशन

चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृहलाई निर्वाचन आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् ।

आईतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् ।  उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए ।

उनले भने- ‘गृहको सन्दर्भमा हेलिकप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरु कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला । तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्शनमा जानुपर्छ । एक्शनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो की ? डिएसपी साबतिर तेर्सिने हो की ? हेर्ने काम त उहाँहरुको हो । त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न उनले सबैको ध्यानाकर्षण गराए । 

उनले भने- ‘अहिले भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम छ, तर अरु खाले बढ्दै गएको अवस्था छ । सामाजिक सञ्जालको विषय छ । सामाजिक सञ्जालको विषयलाई हामीले पनि सकेको कारबाही गरिरहेका नै छौँ । सामाजिक सञ्जालको यो बीचको प्रयोग अत्यन्तै संवेदनशील विषय छ । अब यो मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखियो र अर्को आचारसंहीताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने खाले कुरा भन्न पाइँदैन भनेको छ हाम्रा सबै कानूनमा । ठूला नेता उभिसकेपछि अर्को नेतालाई सत्तो सरकाकप नगरीकन भाषणा नै नसिध्याउने प्रवृत्ति छ, यो आचारसंहीता भित्र पर्छ की पर्दैन । पर्छ भने कसले सोध्ने, कसैले त सोध्नुपर्ला । हामीले हाम्रा नेताहरुले पचाउनुहुन्छ, भन्ने गरेको छु, तर त्यो नसुहाउला । यस्ता किसिमका इस्युहरु युट्युब, भाइबर, फेसबुकबाट आइरहेका छन्, अहिले बढी टिकटकबाट छन् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए । उनले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहीता विपरितका गतिविधि रोक्न आयोग लागिपरेको बताए ।

उनले जिल्लाहरुमा आचारसंहीता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याँइ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पलना गर्न जिल्ला निर्वाचन आचारसंहीता कार्यान्वयन समितिलाई निर्देशन पनि दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीता उल्लंघन गरेको भनि आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरुलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नुपर्ने बताए । उनले भने- ‘हामीले बाहिरबाट आएका स्पष्टीकरणको सन्दर्भमा सोधियो, त्यहाँ जति सोधिन्छ, लोकल लेभलबाट, जिल्ला स्तरबाट खासै त्यता मिटिङराख्ने, निर्णय गर्ने, सम्झाइबुझाइ गर्नेतर्फ बढी गएको जस्तो देखिएको छ । यो अन्तिम चरणमा छाैं, त्यसकारण आज नै निर्णय गरेर आजबाट ती सबै निर्णयहरुले तदनुसार ठाउँको ठाउँ कारबाहीको प्रक्रिया शुरु गरौँ । त्यसले चनाखो बनाउँदो रहेछ, एउटा र अर्को कारबाहीको बाटो पनि प्रशस्त गरौँ । कारबाहीको अधिकार तल हुँदैन, कारबाही आयोगले नै गर्ने हो त्यसकारण जति स्पष्टीकरण सोधिएका छन्, त्यसको जवाफसहितको फेहरिस्त मागेर हामीले कारबाहीमा पनि जानुपर्छ । किनभने हामीलाई सधैँ आरोप के लाग्छ भने स्पष्टीकरण सोध्छ कारबाही गर्दैन, भन्ने छ, त्यसैले कारबाहीमा लागौँ ।’

Logo