ललितपुर- ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
‘निवेदीका नियमित रूपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभै मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ता जस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो। यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१)(ङ) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २ ०७४ को दफा १२(ङ) को प्रयोजनका लागि “लाभको पदमा बहाल रहेको” भनी मान्न मिल्ने देखिएन। तसर्थ पछि पूर्ण सुनुवाईका अवस्थामा निवेदकले उठाएका कानूनी प्रश्नको निरूपण हुने नै हुँदा अहिले प्रत्यर्थी निर्वाचन आयोगको निवेदन माग बमोजिम यस अदालतबाट मिति २०७९ ।७। १५ मा जारी भएको अन्तरिम आदेश बदर गरिरहन परेन। अरू कानून बमोजिम गर्नू।’ आदेशमा भनिएको छ ।
मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदनमा सोमबार सुनुवाइ गर्दै इजलासले सो आदेश जारी गरेको हो । कार्कीको क्षेत्रमा सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा छन् ।
सर्वोच्चको आदेश-

































प्रतिक्रिया