हारबाट कहिले नथाक्ने र विचलित नहुने नेता हुन् विश्वप्रकाश शर्मा ।
विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा उदाएका विश्वप्रकाश एक संर्घषशील नेताकाे रूपमा परिचित छन् । प्रभावशाली नेताको छवि बनाइसकेका विश्वप्रकाशको शालीनतासँग विपक्षी दलका नेताहरू समेत प्रभावित रहेका छन् । लोभलाग्दो राजनैतिक वृत्त बनाइसकेका विश्वप्रकाश संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर–१ मा पराजित भए । तर त्यति नै बेला विपक्षी उम्मेदवारलाई फोन गरेर मतगणना स्थलमै बोलाए । प्रेमले अङ्कमाल गरे र माला लगाउँदै सफल राजनीतिक यात्राको शुभेच्छासमेत दिए। यो उनको स्वभाव हो ।
यही सद्भाव र शुभेच्छाका सिँढी चढ्दै विश्वप्रकाश फेरि झापा क्षेत्र नम्बर १ बाट नै चुनावमा होमिएका छन् । जिल्लामै बसेर केन्द्रीय राजनीति गर्ने नेता हुन् विश्वप्रकाश शर्मा । कोमल हृदयका विश्वप्रकाश सधैँ नै नवीन प्रयोग गर्छन् । त्यो पनि स्पष्ट धारणा लिएर । २०७२ सालको विनाशकारी भूकम्पपश्चात् राहत र पुनर्निर्माणका लागि पार्टी पङ्क्ति परिचालनमा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
विश्वप्रकाश पार्टीभित्र भएका गलत निर्णय र गलत कदमलाई खुलेरै विरोध गर्छन् । संविधान निर्माणपछि बनेको सरकारका लागि नेता सुशील कोइरालाले उम्मेदवारी दिएपछि विश्वप्रकाशले सार्वजनिक रूपमै विरोध जनाएका थिए । उनी नेवीसंघको राजनीतिक यात्रामा समयमै महाधिवेशन गराउने एक्लो नेता हुन् । यस कारण पनि उनी राजनीतिमा युवाहरूको आशा-भरोसाका खम्बा मानिन्छन् । स्पष्ट र अलग विचार उनको राजनीतिक उचाइको दरिलो स्तम्भ हो ।
विश्वप्रकाश राजनीतिज्ञ मात्रै नभएर सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् । उनले नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य महोत्सव गरे । जुन नेपाली चिकित्सा सेवाका लागि पृथक् प्रयोगको स्वर्णिम उदाहरण हो । यति मात्रै नभएर उनी कुशल गीतकार समेत हुन् । त्यसैले त कसैले भनेका छन् – विश्वप्रकाश ‘खाल्डोमा उभिएर पनि अग्लो देखिने मान्छे’ हुन् ।





























प्रतिक्रिया