प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले निरन्तर रुपमा मतान्तर बढाएका छन्।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन रहेको प्युठानमा एमालेका उम्मेदवार थापाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलभन्दा ३ हजार ३२६ मतले अगाडि छन् । ताजा मत परिणाम अनुसार थापाले २५ हजार १२५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनको साथ पाएकी राजमोकी पौडेलले २१ हजार ७९९ मत प्राप्त गरेकी छन् ।
यस्तै, प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको प्युठानमा दुवै क्षेत्रमा एमालेकै उम्मेदवारले अग्रता लिएका छन् ।
क्षेत्र नम्बर ‘क’मा एमालेको तर्फबाटका तुलसीराम शर्माले ११ हजार १४० मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने ९ हजार १२० मत लिएर गठबन्धनको तर्फबाटका उम्मेदवार माओवादी केन्द्रका कृष्ण अधिकारी ‘प्रकाश’ले उनलाई पछ्याइरहेका छन् । शर्मा र अधिकारीबीच २ हजार २० मतान्तर रहेको छ ।
यसैगरी, क्षेत्र नम्बर‘ख’मा नेकपा एमालेको तर्फबाटका उम्मेदवार हरिप्रसाद रिजालले ९ हजार ३२२ मत प्राप्त गरी सुरुदेखि नै अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका रोज राणा’सरोज थापा’ले ८ हजार २ सय ७५ मत लिएर उनलाई पछ्याइरहेका छन् ।
रिजाल र राणाबीच १ हजार ४७ मतान्तर रहेको छ । यतिबेलासम्म प्युठानका नौबहिनी, ऐरावती, सरुमरानी, झिमरुक, गौमुखी र मल्लरानी गाउँपालिकाको मत गणना भएको छ ।





























प्रतिक्रिया