संसदमा रविका सहकर्मी

संसदमा रविका सहकर्मी


पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिखेर चुलिएको छ । कारण मंसिर ४ को आमनिर्वाचनको मतगणना जारी रहँदा नै समानुपातिकतर्फ तेस्रो स्थानमा रहनु तथा राजधानी काठमाडौंका ५ निर्वाचन क्षेत्रमा आफ्नो जित निकाल्नु हो । रास्वपाले हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ नै ७निर्वाचन क्षेत्रमा घण्टी बजाइसकेको छ । काठमाडौं उपत्यका भित्र मात्रै ५ क्षेत्रमा जित हासिल गरिसकेको । को-को हुन् त रास्वपाबाट जितको घण्टी बजाउने उम्मेदवारहरु ?

रवि लामिछाने 
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहेका रवि लामिछाने भारी मतान्तरले चितवन क्षेत्र नम्बर २ मा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन ।लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । लामिछाने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगको प्रस्तोता पनि थिए । 

डा. तोसिमा कार्की
डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएकी छन् । तोसिमाले ३१ हजार १३६ मत ल्याँउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । तोसिमाको मुख्य प्रतिस्पर्धी मानिएकी सत्ता गठबन्धनकी उम्मेदवार पम्फाभुसालले ८ हजार ७६९ मत पाइन् । डा. कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ हुन् । उनले उम्मेदवारी दर्ता गरेपछि उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेका आरोपमा उम्मेदवारी खारेज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी समेत परेको थियो । पछिसर्वोच्च अदालतले डा. कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेपछि उनको उम्मेदवारी कायम रहेको थियो ।

सोविता गौतम
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी उपाध्यक्ष समेत हुन् । २७ वर्षीया उनले प्रतिस्पर्धी एमालेका मणिराम फुयाललाई साढे ३ हजारभन्दा बढी मतान्तरमापराजित गरेकी हुन् । सोविताले १५ हजार २२९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभामा सदस्यमा निर्वाचित सोविता अधिवक्तासँगै नेपाल टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता समेत हुन । उनले व्यवस्था परिवर्तन हुँदा जनताको अवस्था परिवर्तन नभएको मुद्धालाई चुनावी एजेण्डा बनाएकी थिइन् । 

शिशिर खनाल
एमाले र कांग्रेस दुवैले पकड क्षेत्र दाबी गदै आएको काठमाडौं ६ मा शिशिर खनाल विजयी भए । रास्वपाको उम्मेदवा खनालले नेपाली कांग्रेसका भीमसेन दास प्रधान र नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गरेका हुन । शिशिरले १४ हजार २ सय ४ मत प्राप्त गर्दा एमालेका सर्वेन्द्रले ८ हजार ९ सय ११ मत र कांग्रेसका भीमसेन दासले ८ हजार ८ सय ५ मत प्राप्त गरेका हुन । भीमसेन दास प्रधान सोही क्षेत्रमा ०७४ का निर्वाचित उम्मेदवार हुन् । शिशिर खनाल शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको टिच फर नेपालका सहसंस्थापक हुन् । 

विराजभक्त श्रेष्ठ 
काठमाडौं– ८ मा विराजभक्त श्रेष्ठ ४ हजार २ सय १६ मतान्तरले विजयी भएका छन् । उनले बहालवाला मन्त्री जीवनराम श्रेष्ठ र चुनाव अघि चर्चामा रहेका उम्मेद्वार सुमन सायमीलाई पराजित गरेका हुन् । विराजले१० हजार १ सय ५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत र कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनरामले ४ हजार ८७७ मतमात्रै ल्याएका छन् । 

यद्यपि, विराजभक्त श्रेष्ठ प्रदेश सांसद भइसकेका नेता हुन् । उनी ०७४ मा विवेकशील साझाबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य भएका थिए । श्रेष्ठ तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले कारवाही गरेर निकालिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए । उनी काठमाडौंमा भएका गुठी विधेयकविरुद्धको आन्दोलन र अकुपाई टुँडिखेललगायतका आन्दोलनबाट पनि परिचित भएका हुन् । 

गणेश पराजुली
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभातर्फ निर्वाचित पराजुली भर्खरैमात्र राजनीतिमा होमिएका हुन् । पुराना राजनीतिक दल र तिनका नेताबाट दिकदार भएपछि आर्थिक र राजनीतिक परिवर्तनका लागि उनी आफैं निर्वाचनमा होमिएका हुन् । नेकपा एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा ४ जना हेभीवेट नेतासँग प्रतिस्पर्धा गर्दै उनले घण्टी बजाएका छन् । ठूला दलका गठबन्धन उम्मेदवार र दुई हेभीवेट नेताका बीचमा पनि आफ्नो उपस्थिति बलियो भएको उनले प्रमाणित गरेका छन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्।

हरि ढकाल 
प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं १ बाट रास्वपाका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकालले एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली काँग्रेसका नेता एवं अर्थशास्त्री विश्वनाथ पौडेललाई झण्डै १० हजार मतान्तरले पराजित गरेका हुन्। ढकालले ३४ हजार १७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ र विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मतप्राप्त गरेका हुन् । ढकाल वामपन्थी पृष्ठ भूमिका शेयर क्षेत्रका जानकार व्यक्ति हुन् । उनी अनेरास्ववियुको चितवन सचिवसमेत बनेका थिए।

Logo