सुकुमबासी बस्ती व्यवस्थित नहुँदा…

सुकुमबासी बस्ती व्यवस्थित नहुँदा…


सोमबार काठमाडौंकाे थापाथली क्षेत्र निकै तनावग्रस्त थियो । बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती हटाइ छाड्ने सरकारी निकायको निर्णय र बस्ती नछाड्ने सुकुमबासीहरुको अडानले उग्ररुप लिएपछि सो क्षेत्र तनावग्रस्त भएको हो । काठमाडौं महानगर प्रहरी र सुकुमबासीहरुबीचको घम्साघम्सी लामै समय चल्यो । केही मानिस तघरेलु हतियार सहित जाइलागेका थिए । झडपमा दुबै पक्षका गरी पचासौं मानिस घाइते भएका छन् । 

पटक पटक बस्ती हटाउन सरकारी निकायले गरेको आग्रह नमानेपछि महानगरले बस्ती हटाउन डोजर प्रयोग गरेको थियो । यस कार्यमाअधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पनि सहकार्य थियो । 

बागमती किनारमा बस्ने सुकुमबासीहरुलाई वैकल्पिक व्यवस्था बिनानै पटकपटक हटाउने प्रयास हु्ँदै आएको सुकुमबासीका प्रतिनिधिहरुको भनाइ छ । यसपटक पनि एकीकृत बागमती सभ्यता विकास समितिले बस्ती खाली गर्न सूचना जारी गरेको थियो । तर सुकुमबासीहरु हटेनन् । बरु बागमती किनारकै अन्य क्षेत्र सिनामंगल, बल्खु र कुलेश्वरसम्मका सुकुमबासीहरु थापाथलीमा भेला भईएकीकृत रुपमा प्रतिकारमा उत्रने तयारीमा रहे । जसका कारण थापाथली तनावग्रस्त भयो । यो प्रकिया मङगलबार पनि जारी रह्यो । काठमाडौका सम्पूर्ण सुकुमबासीहरु थापाथलीमा जम्मा भएर काठमाडौं महानगर र बालेन्द्र साह विरुद्ध नारावादी गरे । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुमबासीहरुले गृहमन्त्री र महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरे । 
 
वैकल्पिक व्यवस्था सहित सुकुमबासी हटाउने माग पूरा गर्न सरकारले अर्पाटमेन्टमा राख्ने योजना बनाएको थियो । तर अपार्टमेन्टको बसाइ आफूहरुलाई उपयुक्त नहुने सुकुमबासीहरुको तर्क छ । विविध कारण देखाउदै उनीहरु त्यहाँ जान मानेका छैनन् । आन्दोलनमा सहभागी प्रेमकुमारी राणा सरकारले स्वास्थ्य, शिक्षा र रोजगार भएका ठाँउमा स्थानान्तरण गर्नुपर्ने बताउँछिन् । आफूहरु सहरको विकासमा बाधक नरहेको लामो समयदेखि बागमती किनारमा बस्दै आएकी पे्रमकुमारी बताउँछिन । सरकार वार्तामा आएर व्यवस्थित विकल्पको सिर्जना गर्नु पर्ने उनको भनाइ छ । 
 
चुनावका बेला सुकुमबासीहरुलाई लालपुर्जा दिने आश्वासन भने धेरै अघिदेखि बाँडिदै आएको हो । अधिकांस सुकुम्बासीहरुले आफुहरुले लालपुर्जा पाउनु पर्ने माग गर्दै आएका छन् । त्यसो त काठमाडौं महानगरपालिकाले थापाथलीमा बस्दै आएका सुकुमबासीलाई स्थायी बासिन्दा भन्दै घर नम्बर समेत प्रदान गरेको छ । त्यतिमात्र नभई गतभदौं ९ गते भूमिहीन, दलित सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने सहमति भूमि आयोग र महानगरपालिका दुबैले गरेका थिए । तर, महानगरपालिकाले कुनैपनि किसिमको सहमति बमोजिमको कार्य नगरेको थापाथली सुकुमबासी बस्तीका मीनबहादुर राणा बताउँछन् । 
 
सहमति अनुसार लगत संकलनका लागि भूमि आयोगले भदौ २९ मा काठमाडौं महानगरसहित देशैभरी आवेदन फारम भर्न ३५ दिने सूचना जारी गरेको थियो । ३० गते निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भन्दै स्थगित गरेपछि काठमाडौं महानगरपालिकाले भाद्र ३१ गते फेरि सम्पूर्ण वडालाई निर्देशन दिएको थियो । तर, सहमति अनुसार लगत संकलन गर्ने कुनै पनि कार्य नगरेको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव अर्जुन कुँवर बताउँछन् । बिनाविकल्प सूचना दिने नीति सदाका लागि बन्द गर्नुपर्ने कुँवरको भनाइ छ ।
 
कुनै पनि सरकारी निकायकातर्फबाट आफुहरुको उचित व्यवस्थापनका लागि वार्तामा नआएको सुकुमबासीहरु बताउँदै आएका छन् । सुकुमबासी बस्ती व्यवस्थापनका लागि बागमती सभ्यता विकास समितिले एडीबीसँग करिब १८ अर्बको सम्भौता गरेको छ । जसमा डेढ अर्ब विविध विषयमा खर्च भएको जनाएको छ । यतासंयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भने बागमती सभ्यता विकास समितिले सुकुमबासीका विरुद्ध गलत किसिमको समाचार सम्प्रेषण गर्नका लागि पैसा दिएको आरोप लगाउँछन् । 
 
सुकुमबासी बस्ती हटाउन महानगर भने पछि नहट्ने अडानमा छ । यसबारेमा महानगर प्रमुख बालेन शाहले स्पष्ट धारणा सार्वजनिक गरिसकेका छन ।सुकुमबासीहरुले भने मंगलबार महानगर घेराउ गरेका थिए । उनीहरुको आन्दोलन २ दिनदेखि जारी छ ।

Logo