काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले त्यस्तो शुभकामना दिएका हुन् । मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरूद्ध लड्न कृष्णअष्टमीले मति सप्रियोस भन्ने उनको शुभकामना छ । मन्त्री ढकालले भने–‘आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरूद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन् ।’
त्यस्तै मन्त्री ढकालले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि गर्न सकिने भन्दै सरकारलाई सघाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पाँच वर्ष जनताले म्याण्डेड दिएकाले केही समयपछि सत्ता प्राप्त गर्ने खेल खेल्दा पनि केही नबिग्रने उनको भनाइ छ । उनले भने–‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि गर्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेड दिएकै छन् । म्याण्डेडपछि त्यो खेल खेल्दा पनि केही बिग्रिँदैन ।’
त्यस्तैगरी सरकार कोरोना नियन्त्रणमा केन्द्रित भइरहेका बेला विभिन्न तरिकाले विरोध भइरहेको उनको आरोप छ । पहिले पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्ने स्वास्थ्यकर्मीहरु अहिले चुप लागेर बसेको उनको भनाइ छ । साथै, गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले सरकारले त्यसको जवाफ काम गरेर दिएकाले अब ती चल्न छाडेको उनको दाबी छ । पीपीई र पीसीआरको गीत नचलेपछि अब औषधि र भेन्टिलेटरका गीत आउन थालेको उनको भनाइ छ ।
जस्तो गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने उनको भनाइ छ । ‘गीतहरु बदली बदली आउनेछन् । एक जमाना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यस्ता गीत बजेनन्, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन्’–उनले भने–‘ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिएको छ ।’
मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर नगएको दाबी गरेका छन् । संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले नआत्तिन उनको आग्रह छ ।
पूरा भिडियाे:





























प्रतिक्रिया